काठमाडौं। इरानको सर्वोच्च नेताको पदमा मोज्तबा खामेनी चयन भएका छन्। दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्या भएपछि उत्पन्न राजनीतिक तनावका बीच उनलाई देशको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको हो।
इरानी सरकारी टेलिभिजनका अनुसार ८८ सदस्यीय ‘धार्मिक विशेषज्ञ सभा’ले मोज्तबालाई सर्वोच्च नेताका रूपमा चयन गरेको हो। उक्त परिषद् इस्लामिक गणतन्त्र इरानको सबैभन्दा प्रभावशाली धार्मिक निकाय मानिन्छ, जसलाई सर्वोच्च नेता चयन गर्ने संवैधानिक अधिकार छ।
अयातुल्ला अली खामेनीको मृत्युपछि देशमा नेतृत्वको शून्यता र क्षेत्रीय तनाव बढिरहेका बेला मोज्तबाको उदयलाई इरानी सत्ता संरचनाको निरन्तरताका रूपमा हेरिएको छ। लामो समयदेखि शक्ति केन्द्र नजिक रहँदै आएका उनी औपचारिक सरकारी पदमा भने कहिल्यै देखिएका थिएनन्।
इस्लामिक क्रान्ति सन् १९७९ पछि इरानमा सर्वोच्च नेताको पदमा सत्ता हस्तान्तरण भएको यो दोस्रो घटना हो। नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा अब इरानको सुरक्षा, विदेश नीति र सैन्य निर्णयमा अन्तिम अधिकार राख्ने व्यक्तिका रूपमा स्थापित भएका छन्। उनी शक्तिशाली रिभोल्युसनरी गार्डका सर्वोच्च कमाण्डर पनि हुनेछन्।
उनको नेतृत्वले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ बहस पनि सुरु गरेको छ। विशेषगरी अमेरिका र पश्चिमी मुलुकहरूले इरानको भावी नीतिलाई चासोका साथ हेरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि खामेनी परिवारबाट नेतृत्व आउन नहुने टिप्पणी गर्दै इरानमा नयाँ प्रकारको नेतृत्व आवश्यक रहेको बताएका थिए।
यद्यपि इरानभित्र भने सत्ता संरचनाले मोज्तबालाई समर्थन दिएको संकेत देखिएको छ। रिभोल्युसनरी गार्डले उनको नेतृत्वप्रति समर्थन जनाएको छ भने इरान समर्थित लेबनानी संगठन हिजबुल्लाहले पनि उनलाई इस्लामी क्रान्तिको निरन्तरताका रूपमा प्रस्तुत गरेको छ।
पिताको प्रभावशाली राजनीतिक विरासतसँगै सत्ता सम्हालेका मोज्तबाको नेतृत्वले इरानको आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई कस्तो दिशा दिन्छ भन्ने प्रश्न अहिले विश्व राजनीतिमा चासोको विषय बनेको छ।





























प्रतिक्रिया