काठमाडौं। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक होर्मुज जलमार्गमा तनाव बढेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) नौसेनाले एउटा कन्टेनर जहाजमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय समुद्री निकायहरूले जनाएका छन्।
घटना ओमानको उत्तर–पूर्वतर्फ करिब २८ किलोमिटर दूरीमा भएको हो। युके म्यारिटाइम ट्रेड अपरेसन (UKMTO) का अनुसार इरानी गनबोटले जहाज नजिक पुगेर आक्रमण गर्दा कमान्ड सेन्टरमा ठूलो क्षति पुगेको छ।
सौभाग्यवश, चालक दलका सबै सदस्य सुरक्षित रहेको र कुनै आगलागी वा वातावरणीय खतरा नदेखिएको बताइएको छ।युके म्यारिटाइम ट्राफिक अर्गनाइजेसनले पनि इरानी गनसिपले बिना चेतावनी गोली प्रहार गरेको उल्लेख गरेको छ।
होर्मुज जलमार्ग विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यहाँको कुनै पनि घटना अन्तर्राष्ट्रिय बजार र समुद्री व्यापारमा प्रत्यक्ष असर पार्ने गर्छ। पछिल्लो घटनाले क्षेत्रीय तनाव थप चुलिने चिन्ता बढाएको छ।































