पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपा उम्मेदवार कुटिएपछि…

पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपा उम्मेदवार कुटिएपछि…

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । भारतकाे पश्चिम बंगाल विधानसभा निर्वाचनको पहिलो चरण अन्तर्गत १५२ निर्वाचन क्षेत्रमा मतदान भइरहँदा विभिन्न स्थानमा हिंसात्मक झडप र कुटपिटका घटनाहरू पनि सार्वजनिक भएका छन्।

कुमरगञ्ज क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार सुवेन्दु सरकारमाथि आक्रमण भएको छ। मतदान केन्द्रतर्फ जाँदै गरेका सरकारलाई बाटोमा रोकेर कुटपिट गरिएको हाे । सामाजिक सञ्जालमा भाइरल भिडियोमा उनी आक्रमणबाट बच्न खेततिर भाग्दै गरेको देखिन्छ। भाजपाले यो आक्रमण सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी) का कार्यकर्ताहरूले प्रहरीकै उपस्थितिमा गरेको आरोप लगाएको छ।

यसैबीच, निर्वाचन आयोगले यस घटनालाई गम्भीरतापूर्वक लिँदै भिडियोमा देखिएका दोषीहरूलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । उता, नाओदामा पनि चुनावी माहोल तनावपूर्ण बनेको छ ।

आम जनता उन्नयन पार्टी (एजियुपी) का नेता हुमायूँ कबीरको भ्रमणका क्रममा टीएमसी र एजियुपी समर्थकहरूबीच ढुङ्गा हानाहान र सवारी साधन तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरी र केन्द्रीय सुरक्षा बलले लाठीचार्ज गर्नु परेको थियो। कबीरले सत्तापक्षले मतदातालाई त्रसित बनाएको आरोप लगाएका छन् भने टीएमसीले ती सबै आरोपहरू अस्वीकार गरेको छ।

अन्य स्थानहरूमा पनि फाट्टफुट्ट हिंसाका खबरहरू आएका छन् ।

Logo