जर्मनीबाट किन ५ हजार अमेरिकी सैनिक फिर्ता गर्दैछन् ट्रम्प ?

जर्मनीबाट किन ५ हजार अमेरिकी सैनिक फिर्ता गर्दैछन् ट्रम्प ?

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच इरान रणनीतिलाई लिएर उत्पन्न विवादका बीच पेन्टागनले जर्मनीबाट करिब ५ हजार अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेको छ। यो कदमले सन् २०२२ अघिको सैन्य उपस्थिति स्तरमा अमेरिकालाई फर्काउने देखिएको छ।

पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले एक विज्ञप्ति जारी गर्दै रक्षा सचिव (सेक्रेटरी अफ वार) ले आगामी ६ देखि १२ महिनाभित्र यो फिर्ती प्रक्रिया पूरा गर्न आदेश दिएको जानकारी दिएका छन्। हाल जर्मनीमा ३६,००० भन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्, जसमध्ये ५,००० घटेपछि पनि त्यहाँ ३०,००० को हाराहारीमा सैन्य उपस्थिति रहनेछ।

यो निर्णय चान्सलर मर्जले इरान युद्धका सन्दर्भमा अमेरिकाको कडा आलोचना गरेपछि आएको हो। मर्जले हालै एक विद्यालय भ्रमणका क्रममा अमेरिकाको इरान रणनीतिलाई ‘अपरिपक्व’ भन्दै इरानी नेतृत्वले वासिङ्टनलाई अपमानित गरिरहेको टिप्पणी गरेका थिए। उनले अमेरिका बिना कुनै ठोस निकास रणनीति युद्धमा होमिएको र वार्ताका नाममा इरानी पक्षले अमेरिकालाई झुलाइरहेको आरोप लगाएका थिए।

जवाफमा राष्ट्रपति ट्रम्पले चान्सलर मर्जलाई ‘केही थाहा नभएको’ भन्दै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सैन्य कटौतीको अध्ययन भइरहेको संकेत दिएका थिए। ट्रम्पले इरान युद्धमा पर्याप्त सहयोग नगरेको भन्दै जर्मनी मात्र नभई इटाली र स्पेनबाट पनि सेना हटाउने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘इटालीले कुनै सहयोग गरेको छैन र स्पेनको भूमिका पनि निकै खराब छ।’

स्मरण रहोस्, गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्दा जर्मनी लगायतका नेटो सहयोगी राष्ट्रहरूसँग कुनै परामर्श गरिएको थिएन। यसै विषयलाई लिएर युरोपेली देशहरू र ट्रम्प प्रशासनबीच दूरी बढेको छ। जर्मनीले आफ्नो सैन्य पूर्वाधार र एयरबेस प्रयोग गर्न अनुमति दिए पनि प्रत्यक्ष सैन्य आक्रमणका लागि आफ्नो भूमि प्रयोग गर्न अस्वीकार गर्दै आएको छ।

ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा पनि जर्मनीले रक्षा बजेटमा पर्याप्त खर्च नगरेको भन्दै १२,००० सैनिक हटाउने प्रस्ताव गरेका थिए, जसलाई पछि राष्ट्रपति जो बाइडेनले रद्द गरिदिएका थिए।

Logo