काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने भएका छन् ।
वासिङ्टन र बेइजिङबीच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भू-भागको रूपमा दाबी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ।
राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको शुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएपनि इरान युद्धका कारण भ्रमण स्थगित गरेका थिए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण आउने बताएका छन् ।
अमेरिकी अधिकारीहरुका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ ।
चीन इरानी तेलको लागि एक प्रमुख ग्राहक हो । मुख्यतया, उसले इरानबाट विशेष सहुलियत दरमा ठूलो पैमानामा कच्चा तेल आयात गर्ने गर्दछ ।
“यो भ्रमण निकै साङ्केतिक महत्वको हुनेछ,” अमेरिकी प्रमुख सहायक प्रेस सेक्रेटरी अन्ना केलीले संवाददाताहरूसँग भने ।
ह्वाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेइजिङस्थित ‘टेम्पल अफ हेभन’को भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन्। सन् २०१७ पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो ।


















