चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

केन्द्रबिन्दु
18
Shares

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्डले ट्रम्प चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भू–राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने बहुप्रतिक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गरेका छन् ।

वासिङ्टनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीहरूको पहुँच विस्तार गर्न चाहेको बताए । उनले सी जिनपिङलाई ‘असाधारण दृष्टिका नेता’ भन्दै चीनलाई अमेरिकी उद्यमका लागि थप खुला बनाउन आग्रह गरेका हुन् ।

“म राष्ट्रपति सीलाई चीनलाई अझ खुला बनाउन आग्रह गर्दछु, ताकि अमेरिकी प्रतिभा र प्रविधिले चीनलाई अझ उच्च स्तरमा पुर्‍याउन सकोस्”, ट्रम्पले लेखेका थिए ।

यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरका रूपमा अघि सारेको देखिएको छ । यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ पुगेका छन् ।

एनभिडियाका प्रमुख जेन्सेन हुआङ अलास्कामा गरिएको प्राविधिक अवतरणका क्रममा एयर फोर्स वनमा सवार भएका थिए भने टेस्ला प्रमुख एलन मस्क पनि राष्ट्रपति विमानमार्फत चीन भ्रमणमा सहभागी भएको बताइएको छ ।

यसैगरी एप्पलका प्रमुख टिम कुकसहित अन्य ठूला अमेरिकी कम्पनीका कार्यकारी प्रमुखहरू पनि बेइजिङ भ्रमणमा सहभागी हुनेछन् । करिब एक दशकपछि अमेरिकी राष्ट्रपति चीन भ्रमणमा पुगेकाले यसलाई विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने प्रयासका रूपमा हेरिएको छ । तर व्यापारिक सम्बन्ध सुधारको प्रयासबीच ताइवान, इरान युद्ध र कृत्रिम बौद्धिकता (एआई) प्रतिस्पर्धाजस्ता संवेदनशील विषयले वार्तालाई जटिल बनाउने सम्भावना पनि देखिएको छ ।

ट्रम्पको सन् २०१७ पछिको पहिलो चीन भ्रमणमा बिहीबार र शुक्रबार सी जिनपिङसँग औपचारिक वार्ता हुनेछ । कार्यक्रमअनुसार बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा राजकीय भोज, चिया स्वागत तथा उच्चस्तरीय समारोह आयोजना गरिनेछ ।

Logo