काठमाडौं । अमेरिका–इरान वार्ताको अन्तिम चरणमा पुगेको समाचारसँगै पाकिस्तान र साउदी अरबले प्रस्तावित बुँदाहरूमा सम्झौताको सहमति भएकोमा स्वागत गरेका छन् ।
इरान र अमेरिका शान्ति वार्ताका लागि सहमत भएको मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् । सामाजिक सञ्जाल एक्समा नेपाली समयअनुसार शनिबार साँझ ४ : ४५ मा पोस्ट गर्दै उनले आगामी २४ घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताए ।
पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो । सरिफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताए । ‘दिगो शान्तिका लागि यो ऐतिहासिक शान्ति वार्ताले बलियो जग खडा गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
दुबै पक्षले शान्ति सम्झौता नजिक रहेको पुष्टि गरेपनि यस सम्झौताका प्रावधानबारे फरक–फरक दाबी गरेका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले शान्ति सम्झौता दुई चरणमा हुने बताएका छन् । पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उनले बताए ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका–इरान वार्ताको अन्तिम चरण पुगेकोमा स्वागत गरेका हुन् ।
टेलिफोन कुराकानीका क्रममा दुई मन्त्रीबीच अमेरिका र इरानबीच जारी वार्ताका बारेमा छलफल भएको र यस प्रक्रियाले यस क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “साउदीको विदेश मन्त्रीले वार्ता प्रक्रियाको क्रममा मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानले गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।”
‘पहिलो चरणमा लेबनानमा इजरायलको आक्रमणसहित सबै मोर्चामा युद्ध रोकिनेछ । फेरि आक्रमण नगर्ने प्रतिबद्धता हुनेछ,’ उनले भने । इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रोक्का सम्पत्ति खोल्ने योजनामा दोस्रो चरणमा छलफल हुने उनले दाबी गरे । उनले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गरिने बताए ।
हर्मुज हुँदै अघि बढ्ने जहाजहरुसँग राजस्व लिने उनले बताए । इरानले युद्ध अवधिमै हर्मुज हुँदै जाने जहाजमाथि शुल्क उठाउने कानुन संसद्बाट पास गरेको थियो । ’त्यहाँबाट जान शुल्क लाग्नेछ,’ ।
पश्चिम एसियाका तीनजना क्षेत्रीय अधिकारीहरुले पनि इरानमाथिको प्रतिबन्ध फुकुवा हुने संकेत गरेका छन् । एशोसिएट प्रेस (एपी)सँगको कुराकानीमा उनीहरुले शान्ति वार्तापछि अमेरिकाले इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई क्रमशः खुकुलो गर्दै लैजाने तथा विदेशमा रोक्का रहेका सम्पत्ति फुकुवा गर्ने बताए ।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेसँगै युद्ध सुरु भएको थियो । यससँगै विश्वको झन्डै २० प्रतिशत तेल तथा प्राकृतिक ग्याँस बाहिरिने हर्मुज जलमार्गमा अवरोध देखिएको छ । ८ अप्रिलमा दुई देशबीच युद्धविरामको सहमति भएपनि दुबै पक्षले त्यसलाई बेला–बेलामा उल्लंघन गरिरहेका छन् ।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा मात्रै सिमित रहेको दाबी गर्दै आएको छ । ट्रम्प प्रशासनका एक अधिकारीले नाम नबताउने शर्तमा एपीलाई दिएको जानकारीअनुसार इरानको उच्च सम्वर्द्धित युरेनियमलाई ध्वस्त गर्ने वा इरानबाट अन्यत्र लैजाने सहमति दुई पक्षबीच भएको छ ।
ती अधिकारीका अनुसार शान्ति–सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र उच्च सम्वर्द्धित युरेनियम हटाउनका लागि विस्तृत प्राविधिक काम हुनेछ । हर्मुजको जलमार्गमा इरानले गरिरहेको अवरोध पनि दुई पक्षबीचको वार्ताको अर्को महत्वपूर्ण विषय रहदैं आएको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले अलग्गै विज्ञप्ति जारी गर्दै यस वार्तामा ट्रम्पले इजरायलका हितहरुलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको बताए । इरानको मिसाइल कार्यक्रम र छद्म समुहहरुलाई उसले दिदैं आएको सहयोग बन्दका लागि ट्रम्पले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
अमेरिका इरान वार्ताको मध्यस्थता पाकिस्तानले गरिरहेको छ । पाकिस्तानका सेनाप्रमुख आशिम मुनिरले यसको नेतृत्व गरिरहेका छन् । साउदी अरेबिया, टर्की, इजिप्ट र कतारले त्यसमा सहयोग गरेका छन् ।





























प्रतिक्रिया