काठमाडाैं । स्पेनिस जायन्ट रियल मड्रिडले फ्रान्सेली सेन्टर ब्याक इब्राहिमा कोनाटेलाई चार वर्षको सम्झौतामा अनुबन्ध गर्ने सहमति गरेको छ। २७ वर्षीय यी डिफेन्डर लिभरपुलसँगको सम्झौता सकिएपछि जुन महिनाको अन्त्यमा ‘फ्री ट्रान्सफर’ मा मड्रिड प्रस्थान गर्न लागेका हुन्।
लिभरपुल र कोनाटेबीच पारिश्रमिक र खेलाडीको मूल्याङ्कनको विषयमा कुरा नमिल्दा नयाँ सम्झौता हुन सकेको थिएन। रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै कोनाटेसँग आगामी चार सिजन अर्थात् ३० जुन २०३० सम्मका लागि क्लबमा रहने गरी सम्झौता भएको पुष्टि गरेको छ।
सन् २०२६ को विश्वकपका लागि फ्रान्सेली टोलीमा रहेका कोनाटे सन् २०२१ मा आरबी लेइपजिगबाट ३ करोड ५० लाख पाउण्डमा पाँच वर्षको सम्झौतामा लिभरपुल आएका थिए। एनफिल्डमा रहँदा उनले सबै प्रतियोगिताहरूमा गरी कूल १८३ खेल खेल्दै प्रिमियर लिग, एफए कप र दुईवटा लिग कपको उपाधि जितेका थिए।
आफ्नो बहिर्गमनबारे भावुक बन्दै कोनाटेले गत मे २४ मा ब्रेन्टफोर्ड विरुद्धको सिजनको अन्तिम प्रिमियर लिग खेलमा लिभरपुलका समर्थकहरूलाई बिदाइ गर्ने मौका नपाएकोमा दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “त्यस क्षण मलाई थाहा थिएन कि समर्थकहरूका सामु यो शर्ट (जर्सी) लगाएको मेरो अन्तिम पटक हुनेछ।”
रियल मड्रिडले प्रशिक्षक जोसे मोरिन्होलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेसँगै कोनाटे टोलीमा सामेल हुन लागेका हुन्। गत सिजन कुनै पनि प्रमुख उपाधि जित्न नसकेको मड्रिडले यसै समरमा बर्नार्डो सिल्भा र मार्क कुकुरेलालाई पनि भित्र्याउने पक्का गरिसकेको छ।
म्यानचेस्टर सिटी छाडेका ३१ वर्षीय पोर्चुगिज मिडफिल्डर सिल्भा पनि फ्री ट्रान्सफरमै मड्रिड आउन लागेका हुन् भने स्पेनिस डिफेन्डर कुकुरेलालाई मड्रिडले चेल्सीबाट ५ करोड २० लाख पाउण्डमा अनुबन्ध गरेको हो।





























प्रतिक्रिया