हवाना । क्युबाको कम्युनिस्ट मोडेललाई ठूलो सङ्कटबाट पार पाउन ‘तत्काल परिवर्तन’ आवश्यक रहेको क्युबाका राष्ट्रपति मिगुएल डियाज–केनेलले बिहीबार बताएका छन् ।
कट्टरपन्थी सुधारको आवश्यकतालाई अझै पनि स्पष्ट रूपमा स्वीकार गर्ने उनले सङ्कट आउनुमा बाह्य शक्तिलाई मात्र दोष दिएर नहुने बताए । “परिस्थितिले तत्काल र निश्चित परिवर्तनको माग गर्दछ,” डियाज–कनेलले कम्युनिस्ट पार्टीको पोलिटब्युरोलाई दिएको र बिहीबार क्युवाली सञ्चारमाध्यमले प्रसारित सम्बोधनमा भनेका छन् ।
डियाज–कनेलले निजी क्षेत्रलाई बढावा दिने र सङ्कटका कारण विदेशबाट भागेका लाखौं क्युबालीहरूबाट थप पुँजी आकर्षित गर्ने उद्देश्यले सुधारलाई द्रुत गतिमा ल्याउन आह्वान गरिएको बैठकमा बताए ।
यी प्रस्तावहरू अभूतपूर्व अमेरिकी दबाबको सामनापछि क्युबाको अर्थतन्त्र विश्वसामु खुला गर्न लागि चीन र भियतनामलाई नमूनाका रूपमा उद्धृत गर्दै क्यानेलले भने, “केही सुधारहरूमा ‘पूर्ण सहमति हुनेछैन तर सुधार प्रयास अगाडी नबढाइरहन सकिदैन।”
उनले भने, “कम्युनिस्ट पार्टी र सरकारको जिम्मेवारी सङ्कटको व्याख्या गर्ने मात्र प्रयास गर्नुको सट्टा जब जनताको जीवन यति कठिन भएको यसको समाधान खोज्नु र नागरिकलाई राज्यको अभिभावकत्व महशुस गराउनु पनि हुनेछ ।”
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा लगाएको तेल आपूर्तिको नाकाबन्दीले क्युबाको अर्थतन्त्र निकै सङ्कटग्रस्त बनेको छ । क्यवाले कहिलेकाहीँ ३० घण्टाभन्दा बढी समयसम्म चल्ने बिजुली कटौतीको सामना गरेको छ भने खाद्यान्न, इन्धन, पिउने पानी र औषधिको अभाव भएको छ ।
हवानाले आफ्नो समस्यालाई छ दशकभन्दा बढी अमेरिकी व्यापार प्रतिबन्ध र नाकाबन्दीलाई दोष दिने गरेको छ । डियाज–क्यानेलले भने, “त्यहाँ ‘केही समस्याहरू’ आन्तरिकसमेत रहेका छन् ।” उनले “ढिलासुस्ती, कर्मचारीतन्त्र र मूल्यमान्यताहरू समस्याका लागि दोषी भएको पनि बताए ।
राष्ट्रपतिको सम्बोधनमा आएका यी सुधारलाई बुधबार कम्युनिस्ट पार्टीले अनुमोदन गरेको थियो । राष्ट्रपतिको सुधारका बिषयमा पूर्व राष्ट्रपति राउल क्यास्ट्रोको समर्थन पनि आएको छ । उनले राष्ट्रपतिको धारणालाई ‘यस समयमा क्रान्तिको लागि सबैभन्दा फाइदाजनक’ भएको बताए ।
सुधारका बुँदालाई क्युवाको संसद्ले अनुमोदन गर्ने अपेक्षा गरिएको छ । सम्भवतः संसद्ले विधेयकलाई बिहीबार नै मतदान गरी कानूनका रूपमा पारित गर्नेछ ।





























प्रतिक्रिया