पाकिस्तान-कतारको संयुक्त विज्ञप्ति: इरान-अमेरिका वार्ताका निर्णय सार्वजनिक

पाकिस्तान-कतारको संयुक्त विज्ञप्ति: इरान-अमेरिका वार्ताका निर्णय सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अमेरिका र इरानबीच आइतबार स्विट्जरल्यान्डमा भएको शान्ति वार्ताका विषयमा मध्यस्थकर्ता बनेका कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा मध्यस्थकर्ताका साथमा अमेरिका र इरानका प्रतिनिधिले यसअघि हस्ताक्षर भएको सम्झौताका विषयमा संवाद गरेका थिए। जसलाई “लेक लुसर्न शिखर सम्मेलन” नाम दिइएको छ।

यस विषयमा पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उच्चस्तरीय वार्ताको पहिलो सत्र सम्पन्न भएको उल्लेख छ। संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सम्झौताका आधारमा संयुक्त रूपमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरिएको छ। यो समितिले सम्पूर्ण वार्ताको अनुगमन गर्नेछ र सबै कुरा सही दिशामा अगाडि बढिरहेको सुनिश्चित गर्नेछ। वार्ताकारहरूले यस समितिलाई नियमित रूपमा रिपोर्ट गर्नेछन्। साथै आणविक कार्यक्रम, इरानविरुद्धका प्रतिबन्ध, निगरानी र विवाद समाधान गर्ने विधिजस्ता विशिष्ट मुद्दामा काम गर्न छुट्टाछुट्टै टोली गठन गरिनेछ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तिम सम्झौतामा पुग्न आगामी ६० दिनभित्र एउटा रोडम्याप विकास गर्ने निर्णय गरिएको छ। यस रोडम्यापका आधारमा तुरुन्तै प्राविधिक वार्ता सुरु हुनेछ। सबै पक्षबिच प्रत्यक्ष सञ्चार लाइन स्थापना गरिएको छ। यसको उद्देश्य गलतफहमी वा द्वन्द्वबाट बच्नु र जहाजहरूलाई हर्मुज स्ट्रेटबाट सुरक्षित रूपमा पार गर्न दिनु हो।’

संयुक्त विज्ञप्तिमा पाकिस्तान र कतारले अमेरिका र इरानले संयुक्त रूपमा ‘द्वन्द्वमुक्त’ सेल स्थापना गर्ने निर्णय गरेको जानकारी दिएका छन्। यसमा लेबनान समावेश हुनेछ र यो कतार र पाकिस्तानजस्ता मध्यस्थता गर्ने देशहरूद्वारा सञ्चालन हुनेछ। यसको काम लेबनानमा युद्ध बन्द गर्ने सम्झौतालाई उचित रूपमा कार्यान्वयन गरिएको सुनिश्चित गर्नु हुनेछ।

Logo