नयाँ दिल्ली सडकमा धर्ना बसे ‘ककरोच जनता पार्टी’का समर्थक

नयाँ दिल्ली सडकमा धर्ना बसे ‘ककरोच जनता पार्टी’का समर्थक

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । भारतको ‘जेनजी’ पुस्ताको राजनीतिक अभियान ‘ककरोच जनता पार्टी’का समर्थकहरू शिक्षामन्त्रीको राजीनामा माग गर्दै भारतीय राजधानी नयाँ दिल्लीको सडकमा धर्नामा बसेका छन् ।

जुन महिनाको अत्यधिक गर्मीका कारण नयाँ दिल्लीमा तापक्रम उच्च रहेको छ । गर्मीका बाबजुद दर्जनौँ प्रदर्शनकारीले रातभर सडक र फुटपाथमै बसेर रात बिताएका छन् । व्यापक प्रहरी उपस्थितिबीच आन्दोलनको दोस्रो दिन प्रदर्शनमा सहभागी हुनेहरूको संख्या झन् बढ्दै गएको अलजजिराले जनाएको छ ।

हालै भारत फर्किएका यो भाइरल अभियानका नेता अभिजित दीपकेले सामाजिक सञ्जालमा सीमित रहेको अभियानलाई सडक आन्दोलनमा रूपान्तरण गर्दै भारतीय युवामाझ बढ्दो आक्रोशको नेतृत्व गरिरहेका छन् ।

पहिलेदेखि नै पढाइ र रोजगारीको दबाबमा रहेका युवामाझ लोकसेवा तथा विभिन्न प्रवेश परीक्षाका प्रश्नपत्रहरू बारम्बार बाहिरिनु र परीक्षाको नतिजामा देखिएका अनियमितताले व्यापक असन्तुष्टि पैदा गरेको छ । दीपकेको ‘ककरोच जनता पार्टी’ (सीजेपी)ले यिनै युवाको आक्रोश र निराशालाई संगठित गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको छ ।

जुन ६ मा नयाँ दिल्लीमा पहिलोपटक आन्दोलन गरेयता दीपकेले मुम्बई, बेंगलुरु र नागपुरजस्ता भारतका विभिन्न सहरहरूमा प्रदर्शन गरिसकेका छन्, जसले सयौँ समर्थकहरूलाई आकर्षित गरेको छ ।

राजधानीको निर्धारित आन्दोलनस्थल ‘जन्तर मन्तर’मा मध्यरात बितिसक्दा पनि १८ वर्षीय सचिन कुमार सडकमै सुतेका थिए । कुमारले एक वर्षसम्म कडा मिहिनेत गरेर गत महिना भारतको प्रतिष्ठित मेडिकल प्रवेश परीक्षा दिएका थिए । तर, पछि प्रश्नपत्र लिक भएको तथ्य बाहिरिएपछि उक्त परीक्षा रद्द गरियो ।

“यसले मेरो दृढ संकल्प नै तोडिदियो । विद्यार्थीहरू डिप्रेसनमा गइरहेका छन्, तर कसैलाई कुनै मतलब छैन,” उनले अल जजिरासँग भने । त्यसयता उनले किताबसमेत नसमातेको बताएका छन् ।

आइतबार करिब १७ लाख विद्यार्थी पुनः परीक्षामा सहभागी भए, तर कुमार भने परीक्षा दिनुको सट्टा आन्दोलनस्थलमै बसे ।
भारत सरकारले प्रश्नपत्र लिक हुने क्रम रोक्न मेसेजिङ एप ‘टेलिग्राम’माथि अस्थायी प्रतिबन्ध लगाएको छ । तर, सरकारका आलोचकहरूले यसलाई केवल ‘टालटुले समाधान’को संज्ञा दिएका छन् ।

यी दुई परीक्षाबीचको अवधिमा भारतभर १२ भन्दा बढी विद्यार्थीले आत्महत्या गरेका छन्, जसले शिक्षा मन्त्रीको राजीनामाको मागलाई थप बलियो बनाएको छ । कुमार र शुभन्कर दुवैका लागि यो उनीहरूको जीवनको पहिलो आन्दोलन हो । आफ्ना अभिभावकको इच्छाविपरीत दुवैजना सडकमा बसेका छन् । तत्काल घर फर्किने उनीहरूको कुनै योजना छैन ।

शनिबार साँझदेखि दिल्ली प्रहरीले प्रदर्शनकारीहरूलाई ब्यारिकेड लगाइएको क्षेत्रबाट हटाउन विभिन्न दबाबमूलक उपाय अपनाइरहेको छ, जसमा केही समयका लागि पानी र खानाको पहुँच रोक्ने कार्यसमेत समावेश छ ।

मध्यरात बितिसक्दा पनि त्यहाँ रहेका केही प्रदर्शनकारीहरू हिप–हप संगीतमा नाचिरहेका थिए भने कतिपय समूह बनाएर राजनीति तथा समसामयिक विषयमा छलफल गरिरहेका थिए । दीपके र उनका समर्थकहरू शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म आन्दोलनस्थल नछोड्ने अडानमा छन् ।

मन्त्रीको राजीनामा आउनेमा पूर्ण विश्वास व्यक्त गर्दै दीपकेले भने, “यदि, सरकारले हामीलाई थकाएर आन्दोलन समाप्त गर्न सक्छ भन्ने सोचेको छ भने त्यो उनीहरूको भूल हो । हामी यहीँ रहनेछौँ ।”

Logo