भारतमा गर्मीको कहरः स्वास्थ्य, शिक्षादेखि रोजगारीमा असर

भारतमा गर्मीको कहरः स्वास्थ्य, शिक्षादेखि रोजगारीमा असर

केन्द्रबिन्दु
12
Shares

नयाँदिल्ली । भारतको मध्यप्रदेशमा मध्याह्नको समयमा तापक्रम प्रायः ४५ डिग्रीभन्दा माथि पुगिरहेको हुन्छ। शम्शेदवादमा काम गरिरहेकी अनमी पूजा साहुका लागि नियमित काम गर्न पनि कठिन भइरहेको छ। ‘मैले आफ्नो धेरैजसो समय बाहिर बिताउनुपर्छ। गर्मीको समय मानिसहरूका ढोका–ढोकासम्म पुगेर खोप लगाउनु निकै चुनौतीपूर्ण हुन्छ,’ उनले भनिन्, ‘त्यही कारण यी दिनहरूमा हामी सबेरै काम सुरु गर्छौं। मध्यदिनमा चर्को घाम लाग्नुअघि नै काम सक्छौं। तर, घरबाहिर निस्कनु आफैंमा यी दिनहरूमा चुनौती ह।’

मध्यप्रदेशका अधिकांश सामुदायिक बाल शिशु स्याहार केन्द्र र पोषण केन्द्रहरूमा विद्युत् आपूर्ति नियमित छैन। ‘जब हावा चल्न छोड्छ। तब मलाई काम सकेर हिँड्न पाए हुन्थ्यो जस्तो हुन्छ,’ साहुले भनिन्।

साहुले आफ्नो आइस र चिसो पानीको बोतल आफूसँगै बोक्छिन्। गर्मीको समयमा खोप लगाउनका लागि कतिपय अभिभावकहरू पनि धेरै इच्छुक नदेखिएको उनको अनुभव छ। ‘धेरैले खोप केन्द्रमा आफ्ना बच्चाहरूलाई ल्याउनै चाहँदैनन्। केहीले गर्मी घटेपछि खोप लगाउन आउने भन्छन्,’ साहुले भनिन्, ‘यसले खोप कार्यक्रममै अवरोध सिर्जना गरेको छ।’

साहुजस्ता स्वास्थ्यकर्मीहरू झोलामा खोपको विवरण, बच्चा र गर्भवती महिलाको विवरण, खोप कार्ड, दैनिक डायरी, पानीको बोतल, औषधिलगायत सामग्री बोकेका हुन्छन्। झन्डै १२ देखि १३ किलोसम्मको झोला बोक्नुपर्छ। यसबाहेक खोपलाई तापक्रमबाट जोगाउन कुलर बक्स पनि बोक्नुपर्छ।

लाटेरी ब्लकस्थित बिजुखेदी स्वास्थ्य केन्द्रले ११ वटा गाउँका झन्डै ९ हजार ३ सय ४५ जनालाई स्वास्थ्य सेवा दिन्छ। यहाँ कार्यरत अनमी सुमित्रा देशमुखले झन्डै ९ सय ५० बालबालिकालाई खोप लगाउनुपर्नेछ। तर, अत्यधिक गर्मीले उनलाई बाहिर निस्कनमात्रै कठिन बनाएको छैन, काममा पनि असर परेको छ। ‘मानिसहरू मध्याह्नमा घर बाहिर निस्कन मान्दैनन्। बच्चालाई खोप केन्द्र ल्याउन चाहँदैनन्,’ उनले भनिन्, ‘धेरै हिँडेर घर–घरसम्म पुग्नुपर्छ। धेरै कठिन हुन्छ ।’

भारतीय अनुसन्धान संस्था हिटवाचले हरियाणामा रहेका जनस्वास्थ्यकर्मीहरूको अवस्थाबारे अध्ययन गरेको थियो। त्यसक्रममा धेरैजसो जनस्वास्थ्यकर्मीले ६ देखि १० घण्टासम्म घरबाहिर बिताउनुपरेको बताएका थिए। उनीहरूमध्ये ८३ दशमलव ७ प्रतिशतले अत्यधिक गर्मीको समयमा बाहिर निस्किएर काम गरेको अनुभव सुनाए। यसमध्ये ३७.२ प्रतिशतले मात्रै निरन्तर पानी पिउन पाएको बताए। थकान, डिहाइड्रेसन, टाउको दुखाइ, रिंगटालगायत गर्मीसँग सम्बन्धित समस्याहरू सामना गर्नुपरेको अनुभव उनीहरूले सुनाएका थिए।

‘सरकारले जनस्वास्थ्यकर्मी र अनमीहरूलाई हिट स्ट्रेस र सुरक्षित काम गर्ने तरिकाबारे तालिम दिन जरुरी छ। उनीहरूलाई राम्रो आयको प्रबन्ध हुनुपर्छ। अत्यधिक गर्मीको समयमा काम घटाउनुपर्छ। ठाउँ–ठाउँमा पानी, छहारी, कुलिङ स्टेसन र सुरक्षित यातायतको प्रबन्ध गर्न आवश्यक छ’, हिटवाचका संस्थापक तथा अनुसन्धानकर्ता अपेक्षित वार्ष्णेयले भने।

केही दिनयता भारतका अधिकांश भागमा गर्मी अत्यधिक बढेको छ। राजधानी नयाँदिल्लीमा केही दिनयता तापक्रम ४१ डिग्रीभन्दा माथि छ। दिल्लीसहितका भारतका २८ वटा राज्यमा १५ मेदेखि जुनको अन्त्यसम्मका लागि अत्यधिक गर्मीले विद्यालय बन्द गरिएको छ। गर्मीका कारण एकातर्फ बालबालिकाको पढाइ प्रभावित गराएको छ, अर्कोतर्फ महिलाहरूको रोजगारीमा अवरोध सिर्जना भएको छ।

साक्षी कट्याल गतवर्ष डिसेम्बरदेखि दिल्ली महानगर क्षेत्रको नोयडामा एक अपार्टमेन्टमा परिवारसँगै बस्दै आएकी छन्। छोरीको स्कुल नजिक पर्ने ठाउँ खोजेर साक्षीको परिवार यहाँ सरेको हो। ‘गतवर्ष सबै राम्रो भएजस्तै थियो। तर अचानक छोरीको विद्यालय बन्द भयो। त्यसपछि उसको स्याहारमा खटिनका लागि मैले कर्पोरेट क्षेत्रमा गरिरहेको जागिर छाड्नुपर्‍यो।’ आफ्ना श्रीमानको आयकै भरमा बच्चाको पढाइ, अतिरिक्त खर्च र अपार्टमेन्टको चर्को किस्ता तिर्नुपर्ने अवस्था रहेको साक्षीले बताइन्।

भारतको सरकारी थिंक ट्यांक नीति आयोगकी पूर्वनिर्देशक उर्वशी प्रसादले भारतको वातावरण अनुकूलन नीतिले महिलाको समस्यालाई ख्याल नगरेको बताइन्। ‘भारतमा अत्यधिक गर्मीसँग जुध्न प्रतिकार्य योजना बनाउँदा लैंगिक पक्षलार्इं विरलै ख्याल गरिन्छ। लैंगिक रूपमा तथ्याङ्कलाई छुट्याएर हेर्ने, अनि कसरी जलवायु नीतिले महिलालाई फरक रूपमा प्रभावित गरिरहेको छ भनेर हामीले विश्लेषण गरेका छैनौं।’

गर्मी र त्यससम्बन्धी सरकारी नीतिहरूले अनौपचारिक क्षेत्रका कामदारहरू धेरै मारमा परेको उनले बताइन्। ‘हरेक वर्ष गर्मी र प्रदूषण आउँछ भन्ने पहिल्यै थाहा हुन्छ। तर, किन हामी अन्तिम क्षणमा विद्यालय बन्द गर्छौं?’ उनले भनिन्। यस्ता निर्णयले घरेलु कामदार, फुटपाथ व्यापारी, कृषि मजदुर र उनीहरूका बालबालिका सबैभन्दा धेरै समस्यामा रहने गरेको उनले बताइन्।

अनलाइन कक्षा प्रभावकारी नहुने निष्कर्ष विगतको अनुभवले दिइसकेको भारतको शिक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए। तर, भारतका अधिकांश विद्यालयमा गर्मी प्रतिरोधी पूर्वाधार नभएकाले विद्यार्थीहरूलाई अनलाइन कक्षामा जोड्नुपर्ने बाध्यता रहेको बताए।

एजेन्सी

Logo