तेहरान । इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कडा विरोध जनाएको हो ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनविपरीत युद्धमा गठबन्धनको सक्रिय संलग्नताको स्वीकारोक्ति भएको बताए । उनले सार्वभौम राष्ट्रविरुद्ध गरिएको आक्रमणमा नाटोको भूमिका संयुक्त राष्ट्रसङ्घीय बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको आरोप लगाए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा पर्याप्त समर्थन नगरेको भन्दै केही सहयोगी राष्ट्रहरूको आलोचना गरेपछि नाटो महासचिव रुटले अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा विभिन्न सदस्य राष्ट्रहरूले सहयोग गरेको बताएका थिए ।
उनका अनुसार इटालीस्थित अमेरिकी सैन्य आधारहरूबाट ‘अपरेसन एपिक फ्युरी’ का क्रममा सयौँ अमेरिकी विमानले उडान भरेका थिए । रुटले इरानविरुद्धको सैन्य अभियानका लागि सहयोगी राष्ट्रहरूले आफ्ना आधार र पूर्वाधार उपलब्ध गराएको पनि उल्लेख गरेका थिए ।
उनले रोमानियाले पनि युद्धका क्रममा केही व्यावसायिक उडान सीमित गरेर अमेरिकी ट्याङ्कर विमानका लागि विमानस्थलको सुविधा उपलब्ध गराएको बताएका थिए ।
ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरुदेखि नै नाटो सदस्य राष्ट्रहरूसँगको सम्बन्धमा तनाव देखिएको छ । मध्यपूर्वमा सैन्य हस्तक्षेप आवश्यक छ कि छैन भन्ने विषयमा गठबन्धनभित्र मतभेद रहँदै आएको छ । यसबीच इटालीले भने रुटको अभिव्यक्तिबाट आफूलाई अलग राखेको छ । इटालीको रक्षा मन्त्रालयले उनको भनाइले स्वीकृत उडानहरूको प्रकृतिबारे भ्रम सिर्जना गरेको जनाएको छ ।
इटालीले अमेरिका–इटालीबीच विद्यमान सम्झौताअनुसार ‘अपरेसन एपिक फ्युरी’ का क्रममा केवल प्राविधिक तथा रसदसम्बन्धी अमेरिकी उडानहरूलाई मात्र अनुमति दिइएको स्पष्ट पारेको छ ।
नाटो प्रमुखको अभिव्यक्तिपछि इरानले गठबन्धनमाथि प्रत्यक्ष आरोप लगाएसँगै इरान–पश्चिम सम्बन्धमा थप तनाव बढ्ने सङ्केत देखिएको छ । -एएफपी





























प्रतिक्रिया