भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

केन्द्रबिन्दु
12
Shares

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।

स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिएका छन् । घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन् । धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ ।

काराकासको उत्तरस्थित एक बस्तीमा एक युवती घण्टौँसम्म उद्धारको प्रतीक्षा गर्दै सहयोगका लागि चिच्याइरहेकी थिइन् । स्थानीय बासिन्दा डानी रिजोले उद्धार टोली र सुरक्षाकर्मीको तत्काल आवश्यकता रहेको बताएका थिए । केही समयपछि ती युवतीको मृत्यु भएको स्थानीयवासीहरूले जानकारी दिएका छन् ।

ला गुआइराका अन्य क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको छ । स्थानीय बासिन्दा एन्टोनियो बर्मुडेजले आवश्यक उपकरण र उद्धार सामग्री नहुँदा असहाय बनेको बताए ।

डोमिङ्गो लुसियानी अस्पतालका एक चिकित्सकले नाम सार्वजनिक नगर्ने सर्तमा धेरै बालबालिका अभिभावकविहीन अवस्थामा अस्पताल पुगिरहेको जानकारी दिए । केही बालबालिकाले आफ्नो परिचय दिन सकेका छन् भने केहीको हातमा पहिचान पट्टी बाँधिएको अवस्थामा उनीहरूलाई एम्बुलेन्समार्फत ल्याइएको छ ।

एक उद्धारकर्मीले प्रशिक्षित जनशक्ति र आधुनिक उपकरणको अभावले उद्धार अभियान प्रभावित भएको बताए । प्रभावित क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले ला गुआइराको भ्रमण गरेका छन् ।

क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा अवस्थित भेनेजुएलाको उत्तरी तट भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ । सन् १९९७ मा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ को भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए । सन् १९०० को ७.७ म्याग्निच्युडको भूकम्पपछि अहिलेको ७.५ म्याग्निच्युडको भूकम्पलाई सबैभन्दा शक्तिशाली मानिएको छ ।

भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस गरिएको थियो । बोगोटाका बासिन्दाहरूले सावधानीस्वरूप भवनहरू खाली गरेका थिए । उत्तरी ब्राजिलका धेरै सहरहरूमा पनि कम्पन महसुस भएको त्यहाँको भूकम्पीय निगरानी निकायले जनाएको छ ।

राजधानी काराकासमा पनि त्रासको वातावरण फैलिएको छ । धेरै नागरिकले सडक र गाडीमै रात बिताएका छन् । -एएफपी

Logo