एन्थ्रोपिकको एआई मोडेलमा अमेरिकी सरकारकाे सीमित पहुँच

एन्थ्रोपिकको एआई मोडेलमा अमेरिकी सरकारकाे सीमित पहुँच

केन्द्रबिन्दु
12
Shares

सन फ्रान्सिस्को । अमेरिकी सरकारले साइबर सुरक्षासम्बन्धी केही संस्थालाई एन्थ्रोपिक कम्पनीको उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल मिथोस–५ मा सीमित पहुँच दिन अनुमति दिएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका कारण अमेरिकी अधिकारीहरूले यसअघि उक्त एआई मोडेलमा पहुँच रोक लगाएका थिए । एन्थ्रोपिकले भने सुरक्षा उपाय सुधारपछि सीमित प्रयोगका लागि पहुँच पुनः खुला गरिएको जनाएको छ ।

कम्पनीका प्रवक्ताका अनुसार एन्थ्रोपिकले अमेरिकी प्रशासनसँग मिथोस–५ को पहुँच विस्तार तथा अर्को एआई मोडेल फेबल–५ लाई सर्वसाधारणका लागि पुनः उपलब्ध गराउने विषयमा छलफल जारी राख्नेछ ।

यसअघि सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै अमेरिकी सरकारले जुन १२ मा एन्थ्रोपिकका दुई अत्याधुनिक एआई मोडेलमा पहुँच रोक्न निर्देशन दिएको थियो । उक्त कदमले सरकारी हस्तक्षेपसम्बन्धी बहससमेत चर्किएको थियो ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले एन्थ्रोपिकले सरकारसँग सहकार्य गर्दै एआई मोडेलसँग सम्बन्धित जोखिम घटाउन काम गरेको बताएका छन् । उनले सुरक्षासम्बन्धी प्रयासमा उल्लेखनीय प्रगति भएको उल्लेख गरे ।

वाणिज्य विभागका प्रवक्ता बेनो कासले अमेरिकाले सुरक्षा सुनिश्चित गर्दै एआई क्षेत्रमा विश्व नेतृत्व कायम राख्न काम गरिरहेको बताए । यसअघि एन्थ्रोपिकले आफ्नो प्रविधि व्यापक निगरानी तथा स्वचालित हतियार प्रणालीमा प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अमेरिकी रक्षा निकायसँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।

यसैबीच एन्थ्रोपिकको प्रतिस्पर्धी कम्पनी ओपनएआईले पनि आफ्नो नयाँ एआई मोडेल सीमित पहुँचसहित सार्वजनिक गरेको छ । ओपनएआईका प्रमुख साम अल्टम्यानले सरकारले अपनाएको प्रक्रिया पूर्ण रूपमा उपयुक्त नभए पनि कठिन परिस्थितिमा काम गरिरहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुआतमा उन्नत एआई प्रणाली सार्वजनिक हुनुअघि राष्ट्रिय सुरक्षा जोखिमको समीक्षा गर्ने व्यवस्था सम्बन्धी कार्यकारी आदेश जारी गरेका थिए । उक्त आदेश कार्यान्वयनको विस्तृत प्रक्रिया भने अझै स्पष्ट गरिएको छैन । -एएफपी

Logo