भेनेजुएला भूकम्पमा बेपत्ता भएका ५० हजारभन्दा बढीको कसरी हुँदैछ उद्धार ?

भेनेजुएला भूकम्पमा बेपत्ता भएका ५० हजारभन्दा बढीको कसरी हुँदैछ उद्धार ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा हालै आएको विनाशकारी शक्तिशाली जुम्ल्याहा भूकम्पका कारण हालसम्म ज्यान गुमाउनेहरूको सङ्ख्या १ हजार ४ सय ३० नाघेको छ। भूकम्प गएको केही दिन बितिसक्दा पनि भग्नावशेषहरूबाट जीवितै उद्धार गर्न सकिने आशामा अन्तर्राष्ट्रिय उद्धारकर्ताहरूले खोजी कार्यलाई तीव्र बनाएका छन्।

यद्यपि, हालसम्म ५० हजारभन्दा बढी मानिसहरू बेपत्ता रहेकाले मृतकको सङ्ख्या अझै निकै बढ्न सक्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ।

गएको बुधबार साँझ ३९ सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका थिए। सन् १९०० यताकै यो सबैभन्दा विनाशकारी भूकम्प भएको बताइएको छ। भूकम्पका कारण राजधानी काराकास र तटीय सहर ला गुइरामा ठुलो भौतिक क्षति पुगेको छ, जहाँ सयौँ आवासीय भवन, मल तथा अस्पतालहरू भत्किएका छन्। मुख्य अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चार सेवाहरू अवरुद्ध हुँदा सुरुवाती चरणमा राहत र उद्धार कार्यमा निकै कठिनाइ भएको थियो।

राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले यस विपद्लाई अत्यन्तै जटिल र चुनौतीपूर्ण सङ्कटको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार भग्नावशेषको विशाल चाङ पन्छाएर मानिसहरूको खोजी गर्न विश्वव्यापी सहकार्यको खाँचो छ। हाल भेनेजुएलामा संयुक्त राज्य अमेरिका, स्पेन, फ्रान्स, भारत र ब्राजिलसहित कम्तीमा १७ देशका आधुनिक उपकरण र तालिमप्राप्त कुकुरसहितका विशेष उद्धार टोलीहरू परिचालन गरिएका छन्।

उद्धार तथा राहत वितरणलाई व्यवस्थित बनाउन राजधानी काराकासमा स्वयंसेवक दर्ता केन्द्र स्थापना गरिएको छ। दर्ता भएका स्वयंसेवकलाई उनीहरूको सीप र क्षमताका आधारमा विभिन्न क्षेत्रमा परिचालन गरिने जनाइएको छ।

पहिले देखि नै आर्थिक र राजनीतिक अस्थिरता झेलिरहेको भेनेजुएलाका लागि यो प्राकृतिक विपत्ति मर्माहत बनाउने अर्को ठुलो बज्रपात सावित भएको छ। प्रभावित क्षेत्रहरूमा खाद्य सामग्री, औषधि र अस्थायी आश्रयस्थलको चरम अभाव देखिएको छ। राष्ट्रसङ्घीय निकायहरू तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पीडितहरूका लागि तत्काल अर्बौँ डलर बराबरको आपत्कालीन मानवीय सहायताको अपिल गर्दै स्थलगत कार्य सुरु गरिसकेका छन्।

Logo