काठमाडौं । अमेरिका र इरानले पछिल्ला तनाव कम गर्दै पुराना विवाद समाधानका लागि पुनः वार्तामा बस्ने सहमति गरेका छन् । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै देशबीच आगामी मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय बैठक बस्ने बताइएको सीएनएनले जनाएको छ ।
बैठकको मुख्य उद्देश्य होर्मुज जलमार्ग सम्बन्धी विवाद समाधान गर्नु रहेको छ । अधिकारीहरूका अनुसार दुवै पक्षले हालका लागि सबै प्रकारका सैन्य गतिविधि र आक्रमण रोक्ने सहमति गरेका छन् । अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन सुनिश्चित गर्न दुवै देश आफ्ना सैन्य गतिविधि सीमित गर्न तयार भएका छन् ।
यो सहमति भने अझै संवेदनशील अवस्थामा रहेको छ । युद्धविराम लागु भएको ११ दिन मात्रै भएकाले कुनै पनि नयाँ घटना शान्ति प्रक्रियाका लागि चुनौती बन्न सक्ने अधिकारीहरूको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका सर्तहरू पूर्ण रूपमा पालना गर्न चेतावनी दिएका छन् । उनले सम्झौता उल्लंघन भए अमेरिकाले पुनः सैन्य कारबाही गर्न सक्ने र अभियानलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन् ।
यसैबीच, वाल स्ट्रिट जर्नलका अनुसार इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले प्रारम्भिक शान्ति सम्झौताअन्तर्गत होर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापन गर्ने विशेष अधिकार इरानसँग रहेको दाबी गरेका छन् ।
तर, अमेरिकाले यो दाबी अस्वीकार गरेको छ । अमेरिकी पक्षका अनुसार सम्झौताले इरानलाई जलमार्गमाथि पूर्ण नियन्त्रण दिएको छैन । र, अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज जलमार्ग सबै देशका व्यापारिक जहाजका लागि स्वतन्त्र तथा सुरक्षित अन्तर्राष्ट्रिय समुद्री मार्ग रहनुपर्छ । सीएनएन






























प्रतिक्रिया