रूसी तेल टर्मिनलमा यूक्रेनी आक्रमण

रूसी तेल टर्मिनलमा यूक्रेनी आक्रमण

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । यूक्रेनले रूसको सेन्ट पिटर्सबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणबारे दुवै देशका राष्ट्रपतिले आफ्नो आफ्नो देशको अन्ुक्ल हुनेगरी प्रतिक्रिया दिएका छन् ।

रूस र यूक्रेनबीच जारी युद्ध पाँचौँ वर्षमा प्रवेश गरेको छ । यसले दुवै देशका शहर तथा ग्रामिण षेत्रका आम नागरिकको जीवनमा पहिलेभन्दा बढी प्रभाव पारिरहेको छ ।

रूस र यूक्रेनबीच जारी युद्धमा यूक्रेनले शनिबार फेरि रूसको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ। पछिल्लो यूक्रेनी ड्रोन हमलामा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गको एक तेल टर्मिनलमा आक्रमण भएको रूसी अधिकारीहरूले पुष्टि गरेका छन् । आक्रमण शहरको किरोभ्स्की जिल्लाको बाल्टिक सागरको किनारमा रहेको तेल टर्मिनल रहेको स्थानमा भएको हो ।

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जेन्डर बेग्लोभका अनुसार रूसी हवाई रक्षा प्रणालीले शहर र आसपासका क्षेत्रमा ७२ वटा यूक्रेनी ड्रोन खसालिदिएको जनाएको छ । आक्रमणबाट तेल टर्मिनलमा क्षति पुगेको बताइए पनि अहिलेसम्म कुनै हताहत भएको जानकारी दिइएको छैन।

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हमलालाई रूसविरुद्ध ‘लामो दूरीको कारबाही’ भनेका छन् । उनले यूक्रेनी सेनाले तेल टर्मिनल मात्र होइन, सेन्ट पीटर्सबर्ग नजिकैको क्रोनस्टाट टापुमा रहेको एउटा महत्वपूर्ण सैन्य अखडालाई पनि निशाना बनाएको बताए । जेलेन्स्कीले भन्नुभयो, “रूसको तेल पूर्वाधारबाट प्राप्त हुने पैसाले उसको युद्ध संयन्त्रलाई बलियो बनाउँछ, त्यसैले यस्ता ठाउँमा हमला गरिएको हो।”

यूक्रेनले विगतका धेरै महिनादेखि रूसका तेल डिपो, प्रशोधन केन्द्र र इन्धन भण्डारण केन्द्रहरूमाथि निरन्तर ड्रोन हमला गरिरहेको छ । यी हमलाका कारण रूसका विभिन्न भागमा इन्धन आपूर्ति प्रभावित भएको छ र सरकारमाथि दबाब बढेको छ। सेन्ट पीटर्सबर्गको यो क्षेत्रमा जुन महिनामा पनि हमला भएको थियो।

यसका साथै रूसले कब्जा गरेको क्रिमियामा शनिबार यूक्रेनको हवाइ (ड्रोन) आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १० वर्षीय बालकसहित दुई जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार, निरन्तर हमलाका कारण धेरै ठाउँमा आम नागरिकका लागि पेट्रोल बिक्री रोक्नुपरेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनका ऊर्जा अखडाहरूमाथि भइरहेका हमलालाई गम्भीर नमान्दै रूसले आफ्नो सैन्य अभियानलाई लक्ष्य पूरा नहुँदासम्म जारी राख्ने बताए । उनले भने, “यूक्रेन यस्ता हमला गरेर युद्ध मैदानमा आफ्नो कमजोर अवस्थाबाट ध्यान हटाउन खोजिरहेको छ।”

Logo