काठमाडौं । अमेरिकाको थिंक ट्यांक मिडिल इस्ट फोरमले चीनले आफ्नो रणनीतिक स्वार्थ विस्तार गर्न पाकिस्तानलाई एक प्रकारको ‘गेटवे’का रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ ।
फोरमले सार्वजनिक गरेको प्रतिवेदनमा पाकिस्तान र लिबियाली नेशनल आर्मीबीच १६ वटा जेएफ–१७ लडाकु विमान, प्रशिक्षण विमान र अन्य सैन्य सामग्री आपूर्तिसम्बन्धी ४ अर्ब अमेरिकी डलरभन्दा बढीको सम्भावित रक्षा सम्झौतालाई यस रणनीतिको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।
प्रतिवेदनका अनुसार उक्त सम्भावित सम्झौताले लिबियामाथि संयुक्त राष्ट्र संघले लगाएको हतियार प्रतिबन्धको प्रभाव कमजोर बनाउन सक्छ । साथै, यसले लिबियाको आन्तरिक द्वन्द्वमा सैन्य शक्ति सन्तुलन परिवर्तन गर्ने र सम्पूर्ण क्षेत्रमा भू–राजनीतिक तनाव बढाउने जोखिम पनि रहेको उल्लेख छ ।
थिंक ट्यांकका अनुसार पछिल्ला वर्षहरूमा पाकिस्तान र चीनबीच रक्षा, सुरक्षा तथा गुप्तचर सहकार्य उल्लेखनीय रूपमा विस्तार भएको छ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको तथ्यांक उद्धृत गर्दै प्रतिवेदनमा सन् २०२१ देखि २०२४ को अवधिमा पाकिस्तानले आयात गरेको कुल हतियारमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आएको उल्लेख गरिएको छ । यसले पाकिस्तानको रक्षा क्षेत्रमा चीनको बढ्दो प्रभाव र पाकिस्तानको निर्भरता झन् गहिरिएको देखाएको प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिवेदनका अनुसार पाकिस्तानले अहिले पनि अमेरिकी एफ–१६ फाल्कन लडाकु विमान सञ्चालन गरिरहेको र समय–समयमा अमेरिकाबाट सैन्य सहायता पनि प्राप्त गर्दै आएको छ । तर, उसको अधिकांश सैन्य क्षमता अहिले चिनियाँ प्रविधिमा आधारित भइसकेको बताइएको छ ।
पाकिस्तानले चीनसँग संयुक्त रूपमा विकास गरेको जेफ–१७ लडाकु विमान, चिनियाँ ड्रोन, एचक्यू–९ वायु रक्षा प्रणालीलगायत रक्षा उपकरणलाई अन्तर्राष्ट्रिय बजारमा सक्रिय रूपमा प्रवर्धन गरिरहेको प्रतिवेदनमा छ ।
प्रतिवेदनका अनुसार पछिल्ला महिनाहरूमा पाकिस्तानले इराक, बंगलादेश, इन्डोनेसिया, साउदी अरब, लिबिया, मोरक्को, नाइजेरिया, सुडान र इथियोपियासँग रक्षा सहकार्य र सम्भावित हतियार सम्झौताबारे छलफल तीव्र बनाएको छ । चिनियाँ सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै प्रतिवेदनमा यीमध्ये धेरै देशसँग जेएफ–१७ लडाकु विमान बिक्रीसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेको दाबी गरिएको छ ।
प्रतिवेदनमा साउदी अरेबसँग हुन सक्ने सम्भावित सम्झौताबारे पनि चर्चा गरिएको छ । त्यसअनुसार पाकिस्तानले जेएफ–१७ लडाकु विमान उपलब्ध गराउने र त्यसको बदलामा वित्तीय सहयोग प्राप्त गर्ने योजना हुन सक्ने उल्लेख छ ।
यद्यपि, हालसम्म यस्तो कुनै औपचारिक सम्झौता सम्पन्न भएको छैन । यसको प्रमुख कारण चिनियाँ हतियारको गुणस्तरबारे उठ्ने प्रश्न, अमेरिकी रक्षा प्रणालीसँगको अनुकूलता तथा वित्तीय सर्तहरूलाई मानिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “चीनले यस क्षेत्रमा आफ्नो रक्षा उद्योग विस्तार गर्न पाकिस्तानलाई प्रवेशद्वारका रूपमा प्रयोग गरिरहेको छ । पाकिस्तानले चिनियाँ रक्षा प्रणालीको प्रवर्धन र निर्यातमार्फत बेइजिङको रक्षा–औद्योगिक प्रभाव तथा रणनीतिक महत्वाकांक्षालाई बल पुर्याइरहेको छ ।”
थिंक ट्यांकको निष्कर्षअनुसार चीनले पाकिस्तानमार्फत पश्चिम एसियाको रक्षा बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीति अघि बढाइरहेको छ । पाकिस्तानद्वारा चिनियाँ हतियारको प्रवद्र्धन र सम्भावित निर्यातले बेइजिङको दीर्घकालीन रक्षा–औद्योगिक रणनीति तथा विश्वव्यापी रणनीतिक प्रभाव विस्तार गर्ने प्रयासलाई थप मजबुत बनाइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।






























