सियोल । उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।
नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षणका साथै क्रुज मिसाइल प्रक्षेपण र ‘विद्युतीय युद्धसामग्री’ समेतको निरिक्षण गर्नुभएको जानकारी राज्य सञ्चालित केसिएनएले आइतबार रिपोर्ट गरेको हो । यो नौसेना जहाज गत वर्ष उद्घाटन समारोहका क्रममा पल्टिएपछि पछि मर्मत गरिएको थियो ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएअनुसार, परीक्षण शुक्रबार भएको हो। यो परीक्षण अर्को पाँच हजार टनको टनको विध्वंसक जहाज ‘चोए ह्योन’ सैन्य सेवामा प्रवेश गरेको दुई हप्ता पनि नबित्दै भएको हो।
त्यस कमिसनिङ समारोहमा किमले आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र नयाँ १० हजार टनका युद्धपोतहरू विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कमिसनिङ भनेको योजना र डिजाइनदेखि वास्तविक निर्माण, कार्यान्वयन वा स्थापनासम्मका सबै सञ्चालन घटकहरू जसरी काम गर्नुपर्ने हो त्यसरी नै काम गरिरहेको छ भनी सुनिश्चित गर्ने विधिगत दृष्टिकोण हो। यसको उद्देश्य निरीक्षण, दस्तावेजीकरण र परियोजनाको प्रगति परियोजना मालिकको आवश्यकता र विशिष्टताहरूसँग बराबर छ कि छैन भनेर प्रमाणित गर्नु हो।
शुक्रबारको हतियार परीक्षणपछि किमले ‘विध्वंसक जहाजको परीक्षण प्रक्रिया जिम्मेवारीपूर्वक पूरा गर्न र दुई महिनाभित्र नौसेनालाई सुम्पन’ निर्देशन दिनुभएको केसीएनएले जनाएको छ ।
केसीएनएले जारी गरेको फोटोमा पहेँलो टोपी लगाएका किम समुद्री टापुको एक अग्लो बिन्दुबाट हतियार परीक्षण हेर्दै गरेको देखिनुभएको छ भने उहाँको दायाँबायाँमा सैनिक अधिकारीहरू रहेका देखिन्छ ।अर्को फोटोमा काङ कोनले समुद्रमा मिसाइल प्रक्षेपण गर्दा धुवाँको मुस्लो उडिरहेको देखिन्छ।
निरिषणपछि देशको ‘युद्ध निरोधक क्षमता’ लाई मजबुत बनाउनुपर्ने दोहोर्याउँदै किमले उत्तर कोरियाको ‘पूर्ण शक्ति’ प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको केसीएनएले उल्लेख गरेको छ।
काङ कोन गत वर्ष मे महिनामा दुर्घटनामा परेको थियो। किमको प्रत्यक्ष उपस्थितिमा पानीमा परीक्षण गर्दा आंशिक रूपमा पल्टिएर क्षति भएको थियो । किमले दुर्घटनाको लागि ‘पूर्ण लापरवाही’ र ‘जिम्मेवारीहीनता’ लाई दोष दिँदै दोषीहरूलाई कारबाही गर्न आदेश दिएका थिए ।
“उत्तर कोरियाको राजनीतिक पात्रो हेर्दा, सबैभन्दा सम्भव कुरा यो हो कि जहाजलाई देशको स्थापना भएको ७८ औं वर्षगाँठ अर्थात् सेप्टेम्बर ९ मा सेनालाई सुम्पिइने छ,” सियोलस्थित कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका हङ मिनले एएफपीसँग भने ।
सन् २०१९ मा हनोईमा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राज्य भएको बारम्बार घोषणा गर्दै आएको छ ।






























