१२ वर्षपछि अमेरिकामा कांग्रेसको जनसम्पर्कको नेतृत्व परिवर्तन हुँदै

१२ वर्षपछि अमेरिकामा कांग्रेसको जनसम्पर्कको नेतृत्व परिवर्तन हुँदै

केन्द्रबिन्दु
3
Shares

अमेरिका । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि अधिवेशन गर्ने तयारी गरेको छ । सन् २०१२ पछि अमेरिकामा जनसम्पर्कको अधिवेशन हुन सकेको थिएन ।

पार्टीभित्रै विवादका कारण १२ वर्षदेखि रोकिएको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । आगामी अगस्ट १४–१६ (साउन २९–३१)मा अमेरिकाको डिसी मेट्रो क्षेत्रमा हुने अधिवेशनले लामो समयदेखि रोकिएको नेतृत्व परिवर्तनको संकट टर्ने भएको हो ।

सन् २००७–२००८ मा पहिलो अधिवेशनबाट अमेरिकामा कांग्रेसले जनसम्पर्क समिति स्थापना गरेको थियो । त्यसपछि सन् २०१४ को सेप्टेम्बरमा टेक्सस राज्यमा दोस्रो अधिवेशन भएको थियो । २०१४ मा दोस्रो अधिवेशनबाट आनन्द बिष्टको सभापतित्वमा गठन गरिएको नेतृत्व हाल १२ वर्षसम्म छ । बिष्टले गत फागुनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएपछि सभापतिबाट राजीनामा दिएका थिए । १२ वर्षसम्म नेतृत्वमा रहेका बिष्टले राजीनामा दिएपछि अधिवेशनका लागि थप दबाब सिर्जना भएको हो ।

कांग्रेस केन्द्रीय समितिको निर्देशन तथा विधानबमोजिम लामो समयदेखि रोकिएको अधिवेशन गर्ने उद्देश्यले अमेरिकाका राज्यहरुमा रहेका च्याप्टरसँग परामर्श गरी अधिवेशन तयारी समितिले मिति र स्थान निर्धारण गरेको हो । अधिवेशनको मिति तय गर्नुअघि नै अमेरिकाको विभिन्न राज्यमा रहेका २६ वटा च्याप्टरको अधिवेशन गरेर ८ सय केन्द्रीय प्रतिनिधि चयन गरिसकेको प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य गौतम दाहालले जानकारी दिए ।

जनसम्पर्क समिति अमेरिकामा ४ हजार सदस्य छन् । ती सदस्यबाट २६ वटा राज्यमा च्याप्टरको अधिवेशन गरेर ८ सय केन्द्रीय प्रतिनिधि छनोट भइसकेको प्रचार विभाग प्रमुख दाहालले बताए ।

अधिवेशन तयारीका जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपसभापति धनञ्जय नरसिंह केसीको संयोजकत्वमा ३० सदस्यीय अधिवेशन तयारी समिति बनाइएको मिडिया प्रमुख रामजीवी पन्थले जानकारी दिए । उनका अनुसार अधिवेशनलाई निष्पक्ष र व्यवस्थित रुपमा सम्पन्न गर्न भक्त थापाको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति र विनोद भट्को संयोजकत्वमा विधान समिति गठन गरिएको छ । आर्थिक, प्रचारप्रसार, व्यवस्थापन, स्वयंसेवक, सांस्कृतिकलगायत विभिन्न उपसमितिले अधिवेशनका लागि आवश्यक तयारी गरिरहेको पन्थले बताए ।

Logo