तेहरान । इरानले बितेका २ दिनमा अमेरिकाको आक्रमणबाट १४ जना नागरिक मारिएको बताएको छ। दुई देशबिच बिहीबार पनि हानाहान जारी रह्यो। जसका कारण होर्मुज जलमार्गमा जहाज आवतजावत लगभग ठप्प भएको छ।
अमेरिकाले इरानका ९० निसानमा प्रहार गरिएको बताएको छ, जसमा होर्मुजनजिकका केही स्थान पनि पर्छन्। इरानले विगत दुई दिनमा अमेरिकाको आक्रमणबाट १४ नागरिक मारिएको दाबी गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यमले प्रान्तीय उपगभर्नरलाई उद्धृत गर्दै बुसेहर आणविक प्लान्ट नजिक पनि आक्रमण गरिएको उल्लेख गरेको छ। तर अमेरिकाले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
बदलामा इरानले कुवेत, बहराइन र कतारमा रहेका अमेरिकाका अड्डामा हवाई हमला गरिएको बताएको छ। बिहीबार इरानले कुवेत, जोर्डन र इराकका धेरै स्थानमा थप आक्रमण गरेको राज्य-समर्थित मिडियाले जनाएको छ।
यसैबिच इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई ६ दिनको श्रद्धाञ्जली कार्यक्रमपछि बिहीबार मसहद अन्त्येष्टि गरिएको छ। त्यस क्रममा इरानको उत्तरपूर्वी सहर मसहदको सडकमा इरानी झण्डाका साथ ठुलो संख्यामा मानिस भेला भएका थिए। केहीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ज्यान मार्ने धम्की भएका पोस्टर पनि बोकेका थिए।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरुमा गरेको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी परिवारसहित मारिएका थिए।






























