होर्मुज जलमार्गमा तनाव चुलिँदै, आक्रमण र प्रत्याक्रमण जारी

होर्मुज जलमार्गमा तनाव चुलिँदै, आक्रमण र प्रत्याक्रमण जारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । होर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानबीचको तनाव थप चर्किंदै गएको छ । तानव बढ्दै जाँदा अमेरिकी सेनाले दक्षिणी इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अलजजिराको रिपोर्टअनुसार बन्दर अब्बास, सिरिक, जास्क तथा केश्म टापुमा विस्फोटका आवाज सुनिएका छन् । तीन साताअघि भएको युद्धविराम सम्झौतापछि अमेरिकाले सुरु गरेको पाँचौँ चरणको सैन्य कारबाहीअन्तर्गत यी आक्रमणहरू गरिएको हो ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार होर्मो प्रान्तका विभिन्न सैन्य क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरिएको छ । इरानले भने यसअघि आफूले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूविरुद्ध जवाफी कारबाही गरेको जनाएको थियो ।

इरानको खुजेस्तान प्रान्तस्थित माहसहरमा रहेको एक कृषिजन्य पानी पम्पिङ स्टेसनमा भएको आक्रमणमा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । इरानी समाचार एजेन्सी इर्नाका अनुसार सुरक्षा तथा कानुन प्रवर्तन मामिलाका उपगभर्नर बलियोल्लाह हयातीले आज बिहान भएको क्षेप्यास्त्र आक्रमणमा केन्द्रका एक सुरक्षागार्डको मृत्यु भएको पुष्टि गरेका छन् ।

घाइतेहरूको उपचारका लागि आपत्कालीन उद्धार तथा स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । यो आक्रमण अमेरिकाले इरानभित्र कम्तीमा १४० वटा लक्ष्यमा प्रहार गरेको र त्यसको जवाफमा इरानले बहराइन, कुवेत, ओमान, कतार तथा जोर्डनस्थित अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै प्रतिशोधात्मक आक्रमण सुरु गरेको दाबी गरेको भोलिपल्ट भएको हो ।

अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज जलमार्ग हुँदै यात्रा गरिरहेका व्यावसायिक जहाजहरूमाथि निरन्तर गोलाबारी गरिरहेको दाबी गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अल जजिरासँग कुरा गर्दै पछिल्लो एक घण्टाभित्र आईआरजीसीले जलमार्गमा रहेका व्यावसायिक जहाजहरूलाई लक्षित गरी गोलाबारी गरेको बताएका हुन् । अमेरिकी सेनाले हालसम्म एउटा इरानी क्रुज मिसाइल र एउटा ड्रोन खसालिसकेको उनले बताए ।

होर्मुज जलमार्गको अवस्थाबारे अमेरिका र इरानले फरक–फरक दाबी गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग व्यावसायिक जहाजहरूको आवागमनका लागि खुला रहेको बताएका छन् । तर, इरानले अमेरिकाले जलमार्गमा सैन्य हस्तक्षेप जारी राखेसम्म हर्मुज बन्द गर्ने प्रयास जारी रहने अडान दोहोर्‍याएको छ ।

दुवै पक्षबीच जलमार्ग र त्यस आसपासका क्षेत्रमा लगातार सैन्य गतिविधि भइरहेका कारण अहिले व्यावहारिक रूपमा कति जहाज सुरक्षित रूपमा आवतजावत गर्न सक्षम छन् भन्ने प्रश्न उठ्न थालेको छ ।

युद्धको प्रभाव विश्व ऊर्जा बजारमा पनि देखिन थालेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य बढेर प्रतिव्यारेल करिब ७९ अमेरिकी डलर पुगेको छ । जहाज ट्रयाकिङ संस्था केपलरको तथ्यांकअनुसार युद्ध सुरु हुनुअघि होर्मुज जलमार्गबाट दैनिक करिब १३० वटा जहाज आवतजावत गर्ने गरेकोमा गत बिहीबार यो संख्या घटेर दैनिक करिब २२ वटा जहाज मा सीमित भएको छ ।

इन्धनको मूल्य निरन्तर बढ्न थालेपछि यसको राजनीतिक असर अमेरिकाभित्र पनि देखिन थालेको छ । बढ्दो इन्धन मूल्यले ट्रम्प प्रशासनमाथि दबाब बढाएको छ । अमेरिकामा आगामी नोभेम्बरको कंग्रेस निर्वाचन नजिकिँदै जाँदा ऊर्जा मूल्यवृद्धिले रिपब्लिकन पार्टीका लागि थप राजनीतिक चुनौती सिर्जना गर्न सक्ने आकलन गरिएको छ । अलजजिरा

Logo