बेइजिङ । चीनको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा तीन वर्षयताकै सबैभन्दा सुस्त गतिमा विस्तार भएको छ । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विश्वव्यापी मागका कारण निर्यात बलियो रहे पनि मध्यपूर्वको युद्धबाट उत्पन्न व्यापारिक अवरोध, कमजोर घरेलु माग र सम्पत्ति क्षेत्रको लामो सङ्कटले आर्थिक वृद्धिमा दबाब परेको सरकारी तथ्याङ्कले देखाएको छ ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) ले अप्रिलदेखि जुनसम्मको अवधिमा अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार भएको जनाएको छ । यो एएफपीले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूको ४.५ प्रतिशतको अनुमानभन्दा कम हो भने सन् २०२२ को चौथो त्रैमासिकयताकै न्यून वृद्धि हो । यो चीन सरकारले चालु वर्षका लागि तय गरेको ४.५ देखि ५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यभन्दा पनि तल रहेको छ ।
एनबीएसले पहिलो छ महिनामा राष्ट्रिय अर्थतन्त्र समग्रमा स्थिर दायरामै सञ्चालन भएको जनाएको भए पनि बाह्य वातावरण अझै अनिश्चित रहेको र देशभित्र उत्पादन बलियो भए पनि माग कमजोर रहेको स्वीकार गरेको छ । आर्थिक पुनरुत्थानलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता अझै कायम रहेको ब्युरोको भनाइ छ ।
चीनको सम्पत्ति क्षेत्रमा लामो समयदेखि देखिएको सङ्कट र उपभोक्ता खर्चमा आएको सुस्तताले सरकारलाई निर्यातमा बढी निर्भर बनाएको छ । तर अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण हर्मुज जलघाँटीबाट हुने ढुवानी प्रभावित भएपछि चीनको व्यापारमा नयाँ चुनौती थपिएको छ । उक्त जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल र प्राकृतिक ग्यास ढुवानी हुने भएकाले त्यसको अवरोधले ऊर्जा आपूर्ति र व्यापारमा असर पारेको छ ।
यद्यपि केही सूचकले सकारात्मक सङ्केत पनि देखाएका छन् । जुन महिनामा खुद्रा बिक्री एक प्रतिशतले बढेको छ । यो बजारको अपेक्षाभन्दा राम्रो हो । औद्योगिक उत्पादन पनि ५.३ प्रतिशतले वृद्धि भएको छ । यो अनुमानभन्दा माथि रहेको एनबीएसले जनाएको छ । तर स्थिर सम्पत्ति लगानी भने पहिलो छ महिनामा ५.७ प्रतिशतले घटेको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका विश्लेषक यू सूले कमजोर घरेलु माग चीनको अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती बनेको बताए । उनका अनुसार सरकारले उपभोग बढाउन वित्तीय प्रोत्साहन, न्यूनतम पारिश्रमिक वृद्धि तथा अग्रपङ्क्तिका श्रमिकको तलब बढाउनेजस्ता उपायमा जोड दिन सक्ने सम्भावना छ ।
अर्का विश्लेषक झाङ झिवेईले भने पहिलो त्रैमासिकमा पाँच प्रतिशतको वृद्धि भएकाले सरकारले तत्काल आफ्नो आर्थिक नीति परिवर्तन गर्ने सम्भावना कम रहेको बताए । उनका अनुसार बलियो निर्यातका कारण चीन अझै वार्षिक वृद्धि लक्ष्य हासिल गर्ने मार्गमै रहेको छ ।
मङ्गलबार सार्वजनिक अर्को तथ्याङ्कअनुसार जुन महिनामा चीनको निर्यात २७ प्रतिशतले बढेको थियो । विश्वव्यापी एआई प्रविधिको विस्तारसँगै चिप्स, सेमिकन्डक्टर र कम्प्युटिङ उपकरणको माग बढेकाले निर्यातमा उल्लेख्य वृद्धि भएको हो । सेमिकन्डक्टर निर्यातको मूल्य एक वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ भने डाटा प्रशोधन उपकरणको निर्यात ५३.१ प्रतिशतले बढेको छ ।
यद्यपि क्यापिटल इकोनोमिक्सका जुलियन इभान्स–प्रिचर्डले सेमिकन्डक्टर निर्यातको मूल्य वृद्धि मुख्यतः विश्व बजारमा मेमोरी चिपको अभावका कारण मूल्य बढेकाले भएको र वास्तविक निर्यात परिमाण भने घटेको बताएका छन् ।
यसबीच चीनको युरोपेली सङ्घ (इयु) सँगको व्यापारिक विवाद कायम रहेको छ । जुन महिनामा चीनले इयुसँग ३२ अर्ब ९० करोड अमेरिकी डलरको व्यापार बचत कायम गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे महिनाको बेइजिङ भ्रमणपछि अमेरिका–चीन सम्बन्ध केही स्थिर बने पनि चिप प्रविधि, व्यापार असन्तुलन र उच्च प्रविधिसम्बन्धी प्रतिस्पर्धा भने अझै दुवै देशबीचको प्रमुख विवादको विषय बनेका छन् ।






























