काठमाडौं । अमेरिका इरानसँगको बढ्दो सैन्य तनावमा केन्द्रित रहेका बेला चीनले समुद्रमुनिबाट परमाणु वारहेड बोक्नसक्ने ब्यालिस्टिक मिसाइलको गोप्य परीक्षण गरेको दाबी गरिएको छ । एक नयाँ प्रतिवेदनले अमेरिकाको ध्यान पश्चिम एसियाको युद्धमा केन्द्रित भएका कारण चीनको यो गतिविधिले अपेक्षित अन्तर्राष्ट्रिय ध्यान नपाएको उल्लेख गरेको छ ।
एसिया मिडिया सेन्टरले प्रकाशित गरेको विशेष प्रतिवेदनअनुसार चीनले मिसाइल परीक्षणका लागि रोजेको समय रणनीतिक रूपमा महत्त्वपूर्ण देखिएको बताइएको छ । प्रतिवेदनमा गत फेब्रुअरीको अन्त्यदेखि अमेरिका इरानसँगको सैन्य द्वन्द्वमा व्यस्त रहेको उल्लेख छ । चीनले पनडुब्बीबाट मिसाइल परीक्षण गरेको समय पनि अमेरिका–इरानबीचको सैन्य तनाव उत्कर्षमा पुगेको अवधि थियो ।
त्यस समयमा अमेरिकाले समुद्री जहाजमाथि भएका आक्रमणको जवाफस्वरूप इरानका विभिन्न सैन्य ठेगानामा हवाई आक्रमण गरिरहेको थियो । पछिल्ला केही महिनादेखि अमेरिकी प्रशासन, सैन्य नेतृत्व र सुरक्षा संयन्त्रको मुख्य ध्यान खाडी क्षेत्रको संकट व्यवस्थापनमै केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाको व्यस्त अवस्थालाई ध्यानमा राखेर चीनले जानाजानी यही समय रोजेको हो भन्ने निष्कर्षमा पुग्न भने पर्याप्त प्रमाण नभएको प्रतिवेदनकी लेखिका तथा सुरक्षा विश्लेषक दिव्या मल्होत्राले बताएकी छन् । चीनले भने उक्त परीक्षण आफ्नो सेनाको नियमित वार्षिक अभ्यास भएको दाबी गरेको छ ।
तर, प्रतिवेदनमा चीनले सम्भावित प्रतिद्वन्द्वी अमेरिका अर्को मोर्चामा व्यस्त रहेका बेला यस्तो परीक्षण गरेको तथ्यलाई महत्वपूर्ण मानिएको छ । अमेरिका अन्यत्र केन्द्रित भए पनि भारत, जापान र अस्ट्रेलियाका रक्षा विश्लेषकहरूले चीनको गतिविधिलाई गम्भीर रूपमा लिएको उल्लेख गरिएको छ ।
उक्त मिसाइल परीक्षण प्रशान्त महासागरको ‘परमाणु–मुक्त क्षेत्र’ नजिक गरिएको दाबी गरिएको छ । यो क्षेत्र न्युजिल्यान्डका लागि रणनीतिक रूपमा संवेदनशील मानिन्छ । प्रतिवेदनका अनुसार यस घटनाले प्रशान्त क्षेत्रका मुलुकहरूमा सुरक्षा चिन्ता बढाएको छ ।
चीनले पछिल्ला वर्षहरूमा आफ्नो परमाणु क्षमताको प्रदर्शन निरन्तर बढाउँदै आएको छ । सेप्टेम्बर २०२४ मा चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो, जुन ४४ वर्षपछि गरिएको पहिलो खुला परीक्षण मानिएको छ ।
डिसेम्बर २०२४ मा चीनले भूमिगत साइलोबाट पनि परमाणु मिसाइल परीक्षण गरेको थियो । पहिले परमाणु कार्यक्रमबारे कम जानकारी सार्वजनिक गर्ने चीनले अहिले आफ्नो रणनीतिक क्षमता खुला रूपमा प्रदर्शन गर्न थालेको विश्लेषकहरूको भनाइ छ । चीनले अमेरिका र बेलायतजस्तै समुद्रमा निरन्तर परमाणु हतियारयुक्त पनडुब्बी गस्ती सञ्चालन गर्ने क्षमता विकास गर्ने दिशामा काम गरिरहेको बताइएको छ ।































