भारतले सञ्चालनमा ल्यायो हाइड्रोजन रेल

भारतले सञ्चालनमा ल्यायो हाइड्रोजन रेल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । भारतले ‘हाइड्रोजन रेल’ सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेलवे स्टेसनबाट पहिलो ‘हाइड्रोजन रेल’ को उद्घाटन गरेका छन्। उक्त रेलको नाम ‘नमो ग्रिन रेल’ राखिएको छ।

उक्त रेल हरियाणाको ‘जिन्द–सोनीपत’ ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ। यसका लागि न्यूनतम भाडा भारु ५ र अधिकतम भारु २५ तोकिएको छ। उक्त रेलमार्गमा जिन्द, गोहाना र सोनीपतसहित विभिन्न स्टेसन तथा हल्टमा सेवा दिनेछ। उक्त रेललाई भारतको स्वच्छ, दिगो र हरित रेल यातायाततर्फको ऐतिहासिक उपलब्धि बताइएको छ। विश्वका प्रायः हाइड्रोजन रेल दुईदेखि तीन कोचमा सीमित रहेका बेला भारतले भने १० कोचको रेल सञ्चालनमा ल्याएको हो।

भारतमा हाइड्रोजन रेल सञ्चालनमा आउँदा यता नेपालमा पनि पूर्वाधार विकास मन्त्रालयले मुलुकमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमन गर्न आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्न सुझाव मागेको छ। रेलमा २ हजार ६ सय यात्रु बोक्ने क्षमता रहेको बताइएको छ। रेल सञ्चालनका लागि विद्युत् लाइन आवश्यक पर्दैन।

रेलभित्र जडित ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’ मार्फत हाइड्रोजन र वायुमण्डलबाट प्राप्त अक्सिजनबीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत् उत्पादन गरिने भारतको रेल मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। उक्त विद्युत्ले ट्र्याक्सन मोटर सञ्चालन गरी रेलका पांग्रा घुमाउँछ। यस प्रक्रियाबाट जलवाष्प र ताप मात्र उत्पादन हुने भएकाले धूवाँ वा प्रत्यक्ष कार्बन उत्सर्जन नहुने विज्ञप्तिमा जनाइएको छ।

पछिल्ला १२ वर्षमा भारतीय रेलले तीव्र गतिमा रेलमार्गको विद्युतीकरण गरेको छ। हाल भारतका ९९ प्रतिशतभन्दा बढी ब्रोडगेज रेलमार्ग विद्युतीकरण भइसकेका छन्। अब हाइड्रोजन प्रविधिको प्रयोगमार्फत स्वच्छ रेल सञ्चालनमा अर्को महत्त्वपूर्ण फड्को मारेको भारतीय रेलले जनाएको छ। यो रेलमा दुईवटा ‘हाइड्रोजन ड्राइभिङ पावर कार’ र आठ ट्रेलर कोच छन्।

प्रत्येक पावर कारमा ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’, लिथियम आइरन फस्फेट ब्याट्री र हाइड्रोजन भण्डारण सिलिन्डर जडान गरिएको छ। प्रत्येक पावर कारले १ हजार २ सय किलोवाट विद्युत् उत्पादन गर्नेछ। दुवै पावर कारको संयुक्त क्षमताले रेललाई अधिकतम १ सय १० किलोमिटर प्रतिघण्टाको डिजाइन गतिमा सञ्चालन गर्न सक्नेछ। प्रारम्भिक सञ्चालन गति ७५ किलोमिटर प्रतिघण्टा तोकिएको छ।

रेल सञ्चालनका लागि हरियाणाको जिन्दमा भारतकै सबैभन्दा ठूलो रेल हाइड्रोजन रिफ्युलिङ केन्द्र निर्माण गरिएको छ। उक्त केन्द्रमा इलेक्ट्रोलाइसिस प्रविधि अर्थात् विद्युत्को माध्यमबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरी हाइड्रोजन उत्पादन गरिन्छ। त्यसपछि हाइड्रोजनलाई ५०० बार दबाबमा संकुचित गरी भण्डारण गरिन्छ र ३ सय ५० बार दबाबमा रेलमा भर्ने व्यवस्था गरिएको छ। केन्द्रमा करिब तीन हजार केजी हाइड्रोजन भण्डारण गर्न सकिने भारतीय रेलले जनाएको छ।

Logo