काठमाडौं । उत्तरी इराकमा इरानी आक्रमणकारी ड्रोनबाट बरामद गरिएको नपड्किएको विस्फोटक पदार्थ निष्क्रिय गर्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ । घटनामा अर्का एक सैनिक सामान्य घाइते भएका छन् ।
जोर्डनस्थित एक अमेरिकी सैन्य अखडामा गरिएको आक्रमणमा यसअघि अमेरिकाका सैनिकको मृत्यु भएको थियो । अर्का एक अमेरिकी सैनिक बेपत्ता भएका थिए । त्यसको भोलिपल्ट अर्थात् इरानमा अमेरिकी आक्रमणको आठौँ दिनपछि पछिल्लो घटना भएको जनाइएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, खसालिएको इरानी ड्रोनबाट बरामद गरिएको विस्फोटक पदार्थ निष्क्रिय पार्ने क्रममा दुर्घटना भएको हो ।
यसैबीच, सेन्ट्रल कमान्डले जोर्डनमा शुक्रबार गरिएको आक्रमणको घटनास्थलमा खोजीका क्रममा अपरिचित शवका अवशेष फेला परेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “ती अवशेषको पहिचान पुष्टि गर्न आवश्यक परीक्षण प्रक्रिया जारी छ ।”
बहराइनस्थित अमेरिकी दूतावासले इरानले राजधानी मनामाका केही अनिर्दिष्ट स्थानलाई निसाना बनाउन सक्ने विश्वसनीय सूचना प्राप्त भएको जनाएको छ ।
दूतावासले बहराइनमा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न र साइरन बजेमा वा विस्फोटको आवाज सुनिएमा तुरुन्त सुरक्षित स्थानमा शरण लिन आग्रह गरेको छ । अमेरिका र इरानबीच लगातार जारी पारस्परिक सैन्य आक्रमणबीच यी घटनाले क्षेत्रीय तनावलाई थप चर्काएको छ ।































