काठमाडौं । फ्रान्स र स्पेनमा डढेलो फैलिँदा तीन लाख मानिस विस्थापित भएका छन् । फ्रान्सले दुई दशक यताकै भयावह डढेलो बेहोरेको बीबीसीले उल्लेख गरेको छ । अत्यधिक गर्मीका कारण डढेलो लागेको हो । युरोपका धेरै क्षेत्रमा ४० डिग्री सेल्सियसमाथि तापक्रम पुगेको थियो । फ्रान्सको जिरोन्द र बोर्डक्स सबैभन्दाबढी प्रभावित भएका छन् । त्यहाँका दुई लाख मानिस विस्थापित भएका छन्।
डढेलोको प्रभावका फ्रान्सका प्रख्यात वाइन उत्पादन इलाकामा पनि परेको छ । चार दिनमा फ्रान्समा करिब ४२० वर्ग किलोमिटर क्षेत्रमा डढेलो फैलिएको बीबीसीले उल्लेख गरेको छ । यो पेरिसभन्दा चारगुणाले ठूलो क्षेत्रफल हो । यस्तै, स्पेनमा ७२० वर्ग किलोमिटर क्षेत्रमा डढेलो फैलिएको हो ।
डढेलोले फ्रान्सका संवेदनशील सैन्य इलाकालाई पनि खतरामा पारेको छ । ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन केन्द्र, घातक रसायन भण्डारण गरिएका क्षेत्र पनि जोखिममा परेको हो ।
आगो निभाउनका लागि फ्रान्सले हवाई सवारीसाधनमार्फत प्रभावित इलाकामा पानी खन्याइरहेको छ । ६ हजार लिटर क्षमताका प्लेन आगो निभाउन प्रयोग भएका छन् । क्यानेडियर प्लेनले तलाउबाट पानी भरेर १२ सेकेन्डभित्र प्रभावित क्षेत्रमा पानी खन्याइरहेका छन् । स्पेन र फ्रान्स दुवैमा हवाई सवारीसाधनमार्फत आगो निभाउने प्रयास भइरहेको छ । फ्रान्सको जिरोन्दमा २५ सय जनशक्ति आगो निभाउन खटाइएको छ ।




















