भारतीय प्रहरीको कडा जाँचले ढुवानी प्रभावित

भारतीय प्रहरीको कडा जाँचले ढुवानी प्रभावित

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी, २४ साउन ।

भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमाथि कडा जाँच गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । 

नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई कडा रुपमा जाँच गर्न थालेपछि उनीहरुलाई सास्ती हुन थालेका छ । जाँचका क्रममा भारतीय एसएसबीले दसगजासम्म आएर चेक गर्ने गरेका छन् । 

भारतीय एसएसबीले सवारीसाधनबाट यात्रुलाई झारेर पुरै शरीरको खानतलासी गर्नुका साथै मोटरसाइकललाई सिट कभर निकालेर जाँच गर्ने गरेका छन् । 

विगत पाँच दिनदेखि सिमानामा गरेको कडा जाँचका कारण औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान नेपाल छाडेर फर्केका भारतीय गाडीलाई पनि सिमाना पार गर्न लामो समय लाइनमा पालो पर्खंदै बस्नुपर्ने बाध्यता रहेको छ । भारतीय प्रहरीको कडा जाँचका कारण सिमानादेखि करिब दुई÷तीन किलोमिटरसम्म नेपालतर्फ मालवाहक तथा यात्रुवाहक सवारीसाधनको लाइन लाग्ने गर्दछ । 

भारतीय पक्षको कडा जाँचले सुनौली नाकाबाट हुने आयात निर्यात प्रक्रियालाई समेत प्रभाव पारेको भैरहवा भन्सार कार्यालय वेलहियाका प्रमुख भूपालराज शाक्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार जाँचकै कारण भारत फर्किन लाइन लागेका गाडीका कारण भारतबाट नेपालतर्फ सामान लिएर आउने गाडीसमेत जाममा फसेका छन् । 

भैरहवा भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा यस नाकाबाट सरदर तीन/चार सय मालबाहक ट्रक भित्रिने गरेकोमा हाल दैनिक करिब एकसयदेखि एकसय पचास वटा मालवाहक गाडी भित्रिने गरेका छन् । 

भारतीय प्रहरी गत हप्तादेखि जाँचमा कडाई पारिएपछि भारतबाट आउने मालवाहक गाडीको संख्या पनि घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार सामान्य अवस्थाको तुलनामा दैनिक ८० देखि १२५ मालवाहक गाडीको आगमन घटेको हो । 

भारतसँगको अन्य नाकामा सामान्य र भैरहवा नाकामा मात्रै जाँच र खनतलासी कडाईले फर्किन पालो कुरेर तीन÷चार दिन बिताउनुपर्ने भएपछि भैरहवा नाका परिवर्तन हुने संभावना बढ्न थालेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । 

पछिल्लो समयमा भारतबाट नेपाल आउने औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामानको आयात सुनौली नाकाबाट बढ्दो छ । 

भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै सिमा जाँचमा कडाई गरिएको जनाएको छ । आउँदै गरेको भारतीय स्वतन्त्रा दिवस (१५ अगस्त) तथा भारत चीन र पाकिस्तानको विवादले खुला सिमानाकाबाट हुन सक्ने अबैध गतिबिधिका कारण जाँचमा कडाइ गरिएको एसएसबीका जवानले बताएका छन् । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सिमावर्ती क्षेत्र सुनौलीमा ढुवानी प्रक्रिया नै प्रभावित हुने गरी गरिएको जाँचका विषयमा भारतीय पक्षसँग कुराकानी भइरहेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी सिंहले नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले जाँच गर्न नपाउने पनि बताउनुभयो । 

“भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा आएर जाँच गर्नु गलत हो”, उहाँले भन्नुभयो, “भारतीय सुरक्षाकर्मी र त्यहाँका जिलाधिकारीसँग छलफल गरेर समाधान गर्न आग्रह गरिसकेको छु ।” 

ढुवानी व्यवस्था र यात्रुलाई नै असहज हुने गरी भएको जाँच प्रक्रियालाई सहज बनाउनतर्फ दुवै देशका अधिकारीको ध्यान जान जरुरी रहेको छ । रासस 

Skip This
Logo