दार्जिलिङ : गोर्खाल्यान्ड आन्दोलन ५१औं दिनमा

दार्जिलिङ : गोर्खाल्यान्ड आन्दोलन ५१औं दिनमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २० साउन ।

नेपालीभाषी गोर्खा समुदायका लागि अलग राज्यको माग गर्दै भारतको पश्चिम बंगालस्थित दार्जिलिङको पहाडी भूभागमा बन्द हडताल भएको आज ५१ दिन पुगेको छ । पहाडकी रानी भनेर चिनिने दार्जिलिङ यसअघि यति लामो समयसम्म कहिल्यै बन्द भएको थिएन ।

यसअघि सबैभन्दा लामो आन्दोलन भनेको सन् १९८६ को हो । गोर्खाल्यान्डको माग गर्दै सुवास घिसिङको नेतृत्वमा भएको तत्कालीन आन्दोलन ४० दिनसम्म चलेको थियो ।
आन्दोलनकै कारण दार्जिलिङमा बंगाल सरकारले दैनिक उपभोग्य वस्तुको संकट सिर्जना गरिदिएको छ । त्यहाँ विगत ४८ दिनदेखि इन्टरनेट बन्द छ । चियाबागानका मजदुरहरूले काम गर्न नपाएको ७ हप्ता भइसकेको छ । स्कुल, कलेज बन्द अवस्थामा छन् ।

अहिलेसम्म यस आन्दोलनमा ८ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, ५० जनाभन्दा बढी गम्भीर घाइते छन् । हजारौंले प्रहरीको लाठी खाएका छन् । सयौं प्रहरी हिरासतमा छन् ।

ममता बनर्जीदेखि केन्द्र सरकारसम्म

यसअघि गोर्खाल्यान्डको आन्दोलन ममता बनर्जीको विरोधमा लक्षित थियो । तृणमूल कांग्रेसकी नेतृ तथा बंगालकी मुख्यमन्त्री बनर्जी गोर्खाल्यान्डलाई बंगालबाट टुक्र्याउन नहुने पक्षमा छिन् । त्यसैले आन्दोलनमा उनको विरोध हुने गरेको छ । बनर्जी सरकारले पनि आन्दोलनकारीमाथि ठुलै दमनको नीति अख्तियार गरेको छ ।

भारतीय जनता पार्टी अलग गोर्खाल्यान्डको माग राखेर आन्दोलनरत दार्जिलिङवासीको मागमा सकारात्मक रहेको बताइएको छ । तर दार्जिलिङ ५१ दिनदेखि अशान्त रहँदा पनि केन्द्र सरकारले समस्या समाधानमा कुनै पहल गरेको छैन । दार्जिलिङबाट सांसद रहेका भाजपाका एसएस आहलुवालिया अहिलेसम्म आन्दोलनका विषयमा चुप छन् ।

त्यसैले विस्तारै राज्य सरकारसँग अधिकार मागिरहेका जनताले केन्द्र सरकारको समेत विरोध गर्न थालेका छन् ।

५०औं दिनमा विशेष जुलुस

बिहीबार आन्दोलनको ५०औं दिन पुगेको अवसरमा दार्जिलिङमा विशेष जुलुस निकालियो । जुलुस दार्जिलिङको चोक बजारमा आएर कोणसभामा परिणत भएको थियो ।
सभामा बोल्दै गोर्खा जनमुक्ति मोर्चा तथा अन्य पाका शीर्ष नेताहरूले केन्द्र सरकारको मौनताप्रति आश्चर्य प्रकट गरे ।

बिहीबारै गोर्खा जनमुक्ति मोर्चाले ५० दिनपुगेको अवसरमा विज्ञप्ति निकालेको छ । ‘छुट्टै गोर्खाल्यान्डको निम्ति गोर्खा जनमुक्ति मोर्चाले डाकेको पहाड बन्द आज ५० दिन पुग्यो । प्रशासनको बर्बरता सहेर पनि र्याली, जुलुस, भोक हड्ताल र बन्दलाई सफल बनाएर यसपल्टको निर्णायक आन्दोलनलाई अघि बढाइरहेका जनतलाई गोर्खे सलाम छ,’ पार्टीका नेता विमल गुरुङको हस्ताक्षर रहेको विज्ञप्तिमा लेखिएको छ ।

केही समयअघि उत्तरी बंगालका प्रमुख वामपन्थी नेता तथा सिलीगुडीका मेयर अशोक भट्टाचार्यले मुख्यमन्त्री बनर्जी दार्जिलिङका गोर्खाभाषी जनताको भावना बुझ्न असमर्थ रहेको र उनकै अदूरदर्शिताले अहिलेको खराब अवस्था सिर्जना भएको जिकिर गरेका थिए ।  (एजेन्सीको सहयोगमा)

Skip This
Logo