युरोकप क्वाटरफाइनलमा आज अन्तिम दुई खेल हुने

युरोकप क्वाटरफाइनलमा आज अन्तिम दुई खेल हुने

केन्द्रबिन्दु
0
Shares

युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलका अन्तिम दुई खेलहरु हुँदैछन्। युरोकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनलको पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन्।

चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । चेक रिपब्लिक र डेनमार्क दुबै टिम जीत निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन्। दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन्।

चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो। चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २–० गोलको जीत निकालेको थियो।

यता डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो। १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको थियो।

युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन्। यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो।

इटालीको रोममा आजै हुने क्वाटरफाइनलको अन्तिम खेलमा इंग्ल्यान्ड र युक्रेन भिड्नेछन् । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन्।

इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो। इंग्ल्यान्डले प्रि–क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

यता युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो। युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो।

इंग्ल्यान्ड र युक्रेनबिच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्डले ४ जीत र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ। दुई टिमबीच मुख्य प्रतियोगितामा पछिल्लो पटक २०१२ को युरोमा प्रतिस्पर्धा भएको थियो। 

Skip This
Skip This
Logo