दमौली (तनहुँ) । यहाँको भानु नगरपालिका–९ ले चालु आर्थिक वर्ष २०८२–८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको हो।
कार्यक्रमअन्तर्गत १४ थान मिनी टिलर, १० थान कम्बाइन्ड मिल, चार थान ‘स्प्रे मेसिन’ तथा चार थान घाँस काट्ने उपकरण वितरण गरिएको वडाध्यक्ष मीन गुरुङले जानकारी दिए। कृषि कार्यमा प्रयोग हुने यस्ता उपकरणले किसानको श्रम, समय र लागत बचत गर्न सहयोग पुग्ने विश्वास लिइएको उनले बताए।
हाल कृषि क्षेत्रमा जनशक्तिको अभाव, उत्पादन लागतमा भएको वृद्धि तथा परम्परागत कृषि प्रणालीका कारण धेरै किसान कृषि पेसाबाट निरुत्साहित हुने अवस्था देखिएको छ । यस्ता चुनौतीलाई मध्यनजर गर्दै कृषिलाई प्रविधिमैत्री, उत्पादनमुखी र व्यावसायिक बनाउन वडा कार्यालयले अनुदान कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष गुरुङले बताए। उनले भने, “किसानले आधुनिक उपकरणको प्रयोगमार्फत कम समयमा बढी काम गर्न सक्ने, उत्पादन लागत घटाउन सक्ने र उत्पादन वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ ।”
वडाध्यक्ष गुरुङका अनुसार किसानलाई आधुनिक कृषि उपकरणसँग जोड्नु आजको आवश्यकता भएकाले प्रविधिमैत्री बनाउन पहल थालिएको हो। “परम्परागत तरिकाले खेती गर्दा लागत बढ्ने र श्रम बढी लाग्ने भएकाले किसान निरुत्साहित हुँदै गएका छन् । यस अवस्थालाई परिवर्तन गर्न तथा कृषिलाई सहज, सरल र उत्पादनमुखी बनाउन वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मेसिनरी वितरण गरेको हो”, उनले भने।
वडाध्यक्ष गुरुङले वितरण गरिएका उपकरणको सही सदुपयोग गर्न किसानलाई आग्रह गर्दै कृषि उत्पादन वृद्धि, आयआर्जनमा सुधार हुनुका साथै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए।
उपकरण प्राप्त गरेका किसानले वडा कार्यालयको पहलप्रति उत्साहित भएका छन्। किसानले आधुनिक उपकरणको प्रयोगले खेतीपाती गर्न सहज हुनुका साथै लागत कम हुने र उत्पादन बढ्ने विश्वास व्यक्त गरेका छन्।





























प्रतिक्रिया