नेकपा (एमाले)ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको जनाएको छ । मंगलबार स्थायी कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नु हुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पारे ।
उनले एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला रहेको उल्लेख गर्दै देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरुसँग गठबन्धन गर्न तयार रहेको बताए । स्थायी कमिटी बैठकले केन्द्रिय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयहरुको अनुमोदन गरेको छ । त्यस्तै पछिल्लो समय अन्य पार्टीहरुबाट नेकपा(एमाले) प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई मातहतका कमिटीहरुमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले कुलभक्त शाक्य, डिबि नेपाली र नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषद्मा मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै जीवन गौतम, वृजेश गुप्ता, धर्म देवकोटा र अमृत राजवंशीलाई केन्द्रिय कमिटी सदस्यमा मनोनयन गरेको पनि उनले जानकारी दिए । बैठकले ५२ हजार ५५० जनाको पार्टी सदस्यता दोहोरिएकाले सो सदस्यताको व्यवस्थापनका लागि संगठन विभागलाई जिम्मेवारी तोकेको छ ।
६ वटा प्रदेशका ईन्चार्जहरुले आफ्नो प्रदेशको शक्ति सन्तुलन र प्रदेशको संगठनात्मक गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरे । त्यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी भदौ १० र ११ गते हुन लागेको केन्द्रिय कमिटीको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनको सम्बन्धमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
अध्यक्ष ओलीले केन्द्रिय कमिटी बैठकमा ल्याउने प्रतिवेदनको सम्बन्धमा नेताहरु सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, कर्ण थापा, प्रभु शाह, शेरधन राई, रघुजी पन्त, मणि थापा, खगराज अधिकारी लगायतका नेताहरुले सुझाव दिएका छन् ।





























प्रतिक्रिया