स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘यूईएफए प्लेयर अफ दि इयर’ को अवार्ड जितेका छन् ।
यूईएफए च्याम्पियन्स लिग फुटबलमा गएको सिजन उत्कृष्ट खेलेका कारण बेन्जिमाले सो अवार्ड जितेका हुन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले हिजो अर्थात २५ अगस्टका दिन बेन्जिमालाई सो अवार्ड प्रदान गरेको हो । बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जित्न सफल भए ।

‘म निकै खुशी छु’ अवार्ड ग्रहण गरेपछि बेन्जिमाले भने, ‘मैले पहिलो पटक यो अवार्ड जितेको हुँ । तर मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको टिमका लागि ट्रफी जित्नु हो ।’
रियलकै कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।
पुरुषको कोच अफ दि इयरको अवार्डमा एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारेका थिए । यस्तै महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड सरिना विग्मानले जितिन् ।

एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।
महिलातर्फको ‘प्लेयर अफ दि इयर’ अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्राप्त गरेकी छन् ।
२०२१\२२ को सिजनमा बेन्जेमाले च्याम्पियन्स लिगमा १२ खेलमा १५ गोल गर्दा एक असिस्ट गरेका थिए। त्यस्तै ४ वटा खेलमा प्लेयर अफ दी म्याच भएका थिए। त्यस्तै ३२ ला लिगा खेलमा २७ गोल तथा १२ एसिस्ट गरेका थिए ।
यो अवार्ड गतबर्ष चेल्सीका जोर्जिन्होले जितेका थिए । युइएफए प्लेयर अफ द इयर अवार्ड सबैभन्दा बढी क्रिस्टियानो रोनाल्डोले ३ पटक जितेका छन् भने लियोनल मेसीले २ पटक जितेका छन् ।































प्रतिक्रिया