नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रवार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष र धाँदलीरहीत हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले यस अघिका निर्वाचन पनि नेपाली काँग्रेसले इमान्दारिता पूर्ण गरेको र अहिले पनि काँग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँदलीरहीत निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताए । नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा नेपाली काँग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्ने बताए ।
‘चुनावी माहोलमा देश होमिसकेको छ । काँग्रेसले नै अहिलेको सरकारको नेतृत्व गरिरहेकोले निर्वाचन अहिलेसम्म पनि निर्वाचन गराउने काममा इमान्दारिता निभाएको छ । अहिले पनि निर्वाचन निष्पक्ष हुनुप-यो । धाँदलीरहीत गराउनको लागि ग्यारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्छ । दलहरुले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्छ ।’ उनले भने, ‘नयाँ सरकार आएपछि हामीले गर्ने भनेको संविधानले दिएका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, आम नेपाली जनताले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा नेपाली काँग्रेसले विशेष ध्यान दिनुपर्छ । आगामी दिनमा नेपाली काँग्रेसले आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा पनि पार्टी अघि बढ्छ ।’
नेता सिंहले काँग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भएपनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासिन रहँदा आवश्यक कानून निर्माण नगरेको आरोप लगाए । उनले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको बिरोध गरिरहेको बताए । उनले कम्युनिष्ट पार्टीका सरकारले संघीय कानून समयमा नबनाइदिँदा संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर अघि बढाउन नसकेको बताए ।
‘काँग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भयो, नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा आदेश कम्युनिष्टहरुले पाएको कारण कम्युनिष्टहरुले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न सकेनन् ।’ उनले भने, ‘संघीय कानून, समयमा नबनाइदिएको कारणले संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसदलाई दुई दुई पटक भंग गरेको कारणले संघीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेको छौँ ।’
नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभइ मतदानको अधिकार दिलाउन पनि मंगलादेवी सिंहले महत्वपूर्ण भुमिका खेलेको भन्दै उनको स्मरण पनि गरे ।





























प्रतिक्रिया