गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशमा फरक-फरक दलले उम्मेदवारी दिने सहमति

गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशमा फरक-फरक दलले उम्मेदवारी दिने सहमति

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा संघ र प्रदेश क्षेत्रमा फरक-फरक दलका उम्मेदवार हुने गरी सिट बाँडफाँट गर्ने समझदारी जुटाएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिनिधिसभा क्षेत्रमा गठबन्धनबाट एउटा दलले उम्मेदवारी दिए, त्यही क्षेत्रको प्रदेश क्षेत्रमा भने अर्को दलबाट उम्मेदवार हुने गरी सिट बाँडफाँट गर्ने समझदारी बनाएको हो । बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिटको बाँडफाँटको विषयमा भने शुक्रबार ठोस् सहमतिमा नपुगेको बताए ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । पाँच दलबाट दुई दुई जना प्रतिनिधि नेताहरू सम्मिलित कार्यदल छ । कार्यदलले चरणबद्ध रुपमा सिट बाँडफाँटबारे दुई सातादेखि छलफल गरिरहेको छ । तर, सहमति भने भइसकेको छैन ।

बुधबार शीर्ष नेताहरूले सम्बन्धित निर्वाचन क्षेत्रको मतपरिणामको समेत विश्लेषण गरी कुन सिटमा कुन दलको उम्मेदवार हुने भन्ने निष्कर्षमा पुग्न कार्यदललाई नै जिम्मेवारी थप गरेका थिए । कार्यदलले त्यहीअनुसार छलफल गरिरहेको छ । बिहीबारको बैठकमा भने गठबन्धनका दलले आ-आफ्नो दाबी पेश गरेका छन् ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २५ र जनमोर्चाले २ सिटमा दाबी पेश गरेका छन् । मन्त्री कार्कीका अनुसार कार्यदलको अर्को बैठक आइतबार दिउँसो ४ बजे पुनः बालुवाटारमै बस्नेछ ।

Skip This
Skip This
Logo