लुम्बिनी ।
कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबर्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिएका हुन् ।
छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यले पर्यटन प्रबर्धनमा गरिने हरेक गतिविधिमा स्थानीयवासी सक्रियतापूर्वक साथ दिन तयार भएको बताए ।
अग्रज पत्रकार हिमबहादुर विष्टले पर्यटन व्यवसायीसँग कोषको सहकार्य जरुरी रहेको बताए । लुम्बिनी होटल सङ्घ नेपालका महासचिव लीलामणि शर्माले लुम्बिनीको विकासमा स्थानीय होटल व्यवसायी सधैं हातमा हात मिलाएर अगाडि बढ्न तयार भएको बताए।
कोषका कामु सदस्य सचिव ज्ञानिन राईले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानीय र पर्यटन व्यवसायीसँग कोष सधैं सहकार्य गरेर हिँड्न तयार भएको बताए । उनले भने, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौं । सबैको सहयोग र सहकार्यमार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ ।’
छलफलमा प्रदेशसभा सदस्य फकरुद्धिन खानले स्थानीयवासीको सहकार्यमार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी वरिपरिको विकास दीर्घकालीन विकास लक्ष्यसहित अगाडि बढेको बताए।रासस































प्रतिक्रिया