नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकलाई सहमतिको आधारमा पारित गरिनुपर्ने बताएका छन् ।
बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले विधेयकमाथि आफ्नो पार्टीको फरक मत रहेको उल्लेख गर्दै फरक मतलाई पनि सम्बोधन गरिनुपर्ने बताए ।
उनले विधेयकलाई सहमतिको दस्तावेजको रुपमा पारित गरिनुपर्ने बताए । ‘यो विधेयक हाम्रो अगाडि प्रस्तुत भएको छ । विधायन व्यवस्थापन समितिमा छलफल भएको छ । विधायन व्यवस्थापन समितिमा छलफल भएर हामीले फरक मत राखेका छौँ । यि फरक विचारलाई पनि सम्बोधन गरेर नागरिकताजस्तो विधेयकलाई पारित गरिनुपर्छ ।’ उनले भने, ‘यहाँ कुनै टाउको गनेर वा हुन्छ वा हुन्न भनेर यो नागरिकता विधेयक पारित गरिनुहुन्न । यसलाई सहमतिको आधारमा, सहमतिको दस्तावेजको रुपमा यो विधेयकलाई पारित गरिनुपर्छ । र नागरिकता विहीन नागरिकलाई नागरिकता दिनेगरी सबै सोच्नुपर्छ । त्यो कुरा प्रतिपक्षतर्फ सोज्याउने होइन सत्तापक्ष जिम्मेवार भएर यो विधेयकलाई पारित गरिनुपर्छ ।’
उनले विधेयकलाई विधायन व्यवस्थापन समितिमा बहुमतले पारित गरेको उल्लेख गर्दै समितिमा पनि आफूहरुले गम्भिर असहमति राखेको स्पष्ट पारे । उनले नागरिकता विधेयकमाथि सत्ता पक्षले भोटको राजनीति गरेको आरोप लगाए । सांसद दाहालले सत्तारुढ गठबन्धनले राष्ट्रियतामाथि खेलवाड गरेको बताए ।































प्रतिक्रिया