काठमाडौं ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशैभरी कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै जाँदा उपत्यकासहित ४३ जिल्लामा लागू गरेको निषेधाज्ञाले पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले घटेको छ ।
कोरोना संक्रमण देखिनु भन्दा अगाडिको तुलनामा निषेधाज्ञाले गर्दा अहिले उपत्यकामा २५ प्रतिशत मात्रै डिजेल तथा पेट्रोलको खपत भएको छ । खपत कम भएकै कारण डिजेल र पेट्रोलको आयातमा पनि कमी रहेको नेपाल आयल निगमका प्रबक्ता बिनितमणि उपाध्यायले बताए ।
उनका अनुसार निषेधाज्ञापछि डिजेल र पेट्रोलको खपत घट्दै गएको छ । उनले भने, ‘लकडाउन अघिको तुलनामा डिजेल, पेट्रोल औसतमा ७५ प्रतिशतले घटेर २५ प्रतिशत मात्रै बिक्री हुने गरेको छ ।’
उपत्यकामा दिनप्रतिदिन कोरोनाको संक्रमण बढेसँगै गत भदौ ३ गते विहिबारदेखि उपत्यकाका तीनवटै जिल्लामा सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सवारी साधनहरु बन्द रहेका छन् । पेट्रोलियम पदार्थको धेरै खपत हुने उपत्यकामा नै निषेधाज्ञाका कारण सवारी साधन चल्न नपाएपछि डिजेल तथा पेट्रोलको बिक्री घटेको हो ।
सामान्य अवस्थाको तुलनामा गत साउनमा डिजेल, पेट्रोलको खपत ५० प्रतिशतले घटेको थियो भने अहिले सो अवधिको भन्दा पनि आधा मात्रै पेट्रोल बिक्री हुने गरेको उपाध्यायले जानकारी दिए ।
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्रै ९ सय किलोलिटर पेट्रोल र साढे ६ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको थियो तर लकडाउन केही सहज भएको बेला दुबै साढे ३ सयदेखि चार सय किलोलिटर बिक्री भएको थियो । निषेधाज्ञापछि भने १५० देखि १७० किलोलिटर मात्रै डिजेल र पेट्रोल बिक्री हुने गरेको उनको भनाइ छ । लकडाउन भएदेखि नै डिजेल पेट्रोलको खपत कम हुँदै गएकाले देशभर नै डिजेल, पेट्रोल, मटितेल र इन्धन ८० प्रतिशत भन्दा बढी मौज्दात रहेको छ भने हवाई उडान सेवा समेत सञ्चालन नहुँदा हवाई इन्धनको खपतमा समेत निकै कम भएको निगमले जनाएको छ ।
पाँच महिनादेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् भने चार्टर्ड उडान बाहेक अन्य हवाई उडान पनि बन्द रहका छन् । लकडाउन अन्त्य भए पनि यी सेवा भने सञ्चालनमा आउन सकेका थिएनन् । अहिले पुनः काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्ला लकडाउन तथा निषेधाज्ञा लागू भएकाले अहिले सबै उद्योग धन्दाहरु बन्द भएका छन् भने आयल निगमकै विभिन्न शाखा र पेट्रोल पम्पसमेत आवश्यकता अनुसार सञ्चालनमा रहेका छन् ।





























प्रतिक्रिया