काठमाडौं ।
नेपाल रेडक्रस सोसाइटीले बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको जनाएको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नु पर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए।
केन्द्र मात्र होइन धरान, विराटनगर, चितवन लगायत स्थानमा पनि रगत अभाव भइरहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा लागू रहेको र आसपासका जिल्लाहरुबाट पहिले जस्तो सहयोग हुन सक्ने परिस्थिति नरहेको उनले जानकारी दिए। यद्यपि नेपालगञ्जमा भने तुलनात्मकरूपमा सहज देखिएको छ । रगतको माग भइरहेकाले रक्तदाता, सङ्घसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भए पनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन सके रगत आपूर्ति सहज हुने रेडक्रसले जनाएको छ ।
नियमित रक्तदाता तथा युवाहरुले नजिकका केन्द्रहरुमा गई रक्तदान गर्न सक्ने र बिरामीको रक्तसमूहसँग मिल्ने साथीभाइ, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुने निर्देशक पौडेलले बताए । सुरक्षित तवरले रक्तदान गर्दा वा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य सङ्घले यसअघि नै स्पष्ट पारिसकेको छ ।





























प्रतिक्रिया