नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका हुन् ।
अध्यक्ष दाहालभन्दा अगाडी मन्तव्य राखेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए । सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताए ।
उनले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गरे । उनले भने– ‘ऋषिजीले जो आदर्शको कुरा गर्नुभयो, म यतिमात्रै भन्न चाहन्छु, ऋषिजी तपाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? तपाई त्यो आदर्शमा किन लाग्नुभएन ? नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाई नै होइन र ? अनि अहिले काँग्रेससँग मिल्यो भनेर तपाईले भन्न मिल्छ ? संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई । मेरो विचारमा मिल्दैन ।’































प्रतिक्रिया