कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सिट बाँडफाँट कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ । 

बैठक दिउँसो ३ बजे बस्ने तयारी रहेको कार्यदलका सदस्यसमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । कार्यदलले हिजो अपूरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ । गत साउन २० गते सत्ता गठबन्धनमा  सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । एक महिना लामो छलफलमा पनि कार्यदल टु‌ंगोमा नपुगेपछि कार्यदलले अपुरै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको हो ।

प्रतिनिधिसभातर्फ १६५ मध्ये करिब ९० सिटमा सहमति जुटाएको कार्यदलले ७५ सिटमा सहमति खोज्ने जिम्मा शीर्ष नेतालाई नै सुम्पिएको छ । एउटै निर्वाचन क्षेत्रमा गठबन्धनका सबैजसो दलको दाबी भएपछि कार्यदलले पूर्ण सहमति गर्न नसकेको हो । हिजै शीर्ष नेताको बैठक बस्ने भनिए पनि अन्तिममा नेताहरुको व्यस्तता भन्दै बैठक बस्न सकेन । गठबन्धनभित्र सिट बाँडफाँटमा असन्तुष्टि चुलिएको छ ।

पछिल्लो पटक जनता समाजवादी पार्टी जसपाले ३२ सिट नपाए गठबन्धनमा नबस्ने चेतावनी दिएको छ।  नेकपा एकीकृत समाजवादीले पनि सम्मानजनक सिट बाँडफाँट नहुने भए गठबन्धनबाट बाहिरिन सक्ने भन्दै आएको छ । कांग्रेसभित्रै सभापति शेरबहादुर देउवालाई १ सय सिटबाट तल झर्न नहुने दबाब शेखर कोइराला समूहले दिइरहेको छ। माअ‍ेवादी केन्द्र ६० सिटको अडानमा छ । जसका कारण कार्यदलले समेत अपुरै प्रतिवेदन बुझाएको छ । 

Logo