काठमाडौं । सामसङ नेपालले सामसङ इनोभेसन क्याम्पस (एसआईसी) अन्तर्गत सञ्चालन गरेको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ। साथै, युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सीप प्रदान गर्ने नयाँ एआई कार्यक्रमका लागि आवेदन खुला गरिएको छ।
गत वर्षको २२ डिसेम्बरदेखि ३० जुन २०२६ सम्म सञ्चालन भएको कोडिङ तथा प्रोग्रामिङ कोर्समा सहभागी विद्यार्थीलाई प्राविधिक सीप, व्यावहारिक परियोजनामा काम गर्ने अवसर तथा उद्योगसँग प्रत्यक्ष परिचय गराइएको थियो।

कोर्स सफलतापूर्वक पूरा गरेका विद्यार्थीलाई एक विशेष समारोहबीच सम्मान गरिएको कम्पनीले जनाएको छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपालको युवा प्रतिभामा ठूलो सम्भावना रहेको उल्लेख गर्दै एआईको बढ्दो प्रयोगसँगै डिजिटल सीप विकासको आवश्यकता अझ बढेको बताए। उनले सामसङ इनोभेसन क्याम्पसमार्फत युवालाई आवश्यक सीप, आत्मविश्वास र नवीन सोच प्रदान गरी नेपालको डिजिटल भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य रहेको बताए।

‘गत डिसेम्बरमा नेपाल आएको केही समयपछि सामसङ इनोभेसन क्याम्पसमा उपस्थित हुँदा मैले नेपालको युवा प्रतिभामा अपार सम्भावना देखेँ। आज त्यो सम्भावनालाई वास्तविक उपलब्धिमा परिणत भएको देख्दा म गर्व गर्छु। आर्टिफिसियल इन्टेलिजेन्सले हरेक उद्योगलाई पुनः आकार दिँदै गर्दा डिजिटल प्रतिभाको विकास गर्नु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ,’ उनले भने, ‘सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङले युवाहरूलाई सीप, आत्मविश्वास र नवीन सोच प्रदान गरी नेपालको डिजिटल भविष्यको नेतृत्व गर्न मद्दत गरिरहेको छ।’
सामसङको विश्वव्यापी सामाजिक उत्तरदायित्व (सिएसआर) अभियानअन्तर्गत सन् २०२३ मा नेपालमा सुरु भएको इनोभेसन क्याम्पसले सञ्चार, सहकार्य, समस्या समाधान र आलोचनात्मक सोचजस्ता कार्यस्थलमा आवश्यक सीपसँगै उदीयमान प्रविधिसम्बन्धी तालिम प्रदान गर्दै आएको छ।

कम्पनीका अनुसार नयाँ एआई कार्यक्रम व्यावहारिक सिकाइ र वास्तविक समस्याको समाधानमा केन्द्रित हुनेछ। यसले सहभागीलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी ज्ञान र सीप विकास गर्न सहयोग गर्ने विश्वास गरिएको छ।
सामसङ नेपालले कोर्स पूरा गरेका विद्यार्थीलाई आगामी दिनमा पनि उद्योग विज्ञ तथा आफ्ना कर्मचारीमार्फत मेन्टरिङ, करियर परामर्श र नवप्रवर्तनसम्बन्धी परियोजनामा सहभागी गराउने जनाएको छ। साथै, सहभागीबीच अनुभव आदानप्रदान र निरन्तर सिकाइलाई प्रवद्र्धन गर्न ‘सामसङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने तयारी पनि गरेको छ।
कम्पनीले नेपालमा एआई इकोसिस्टमको विकास, रोजगारीका अवसर विस्तार तथा डिजिटल रूपान्तरणलाई गति दिन शिक्षण संस्था, निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको जनाएको छ।




















