ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामाको पुष्टि स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको छ।
शाहाबुद्दिन अप्रिल २०२३ मा बंगलादेशको राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले देश राजनीतिकरूपमा चुनौतीपूर्ण अवस्थामा रहेका बेला राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका थिए।
गत वर्ष सरकारी सेवामा आरक्षण व्यवस्थाविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै गएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छाडेर भारततर्फ प्रस्थान गरेकी थिइन्। त्यसपछिको राजनीतिक संक्रमण र अन्तरिम व्यवस्था निर्माणको प्रक्रियामा राष्ट्रपतिका रूपमा शाहाबुद्दिनले संवैधानिक भूमिका निर्वाह गरेका थिए।
बंगलादेशको संविधानअनुसार राष्ट्रपति राष्ट्रप्रमुख भए पनि कार्यकारी अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित रहने व्यवस्था छ। त्यसैले राष्ट्रपतिको भूमिका मुख्यतः औपचारिक र संवैधानिक मानिन्छ।
शाहाबुद्दिनलाई शेख हसिनाका निकट सहयोगीका रूपमा हेरिँदै आएको थियो। हसिनाले स्वदेश फर्कने संकेत दिएपछि उनको शासनकालसँग आबद्ध उच्च पदस्थ व्यक्तिहरूलाई हटाउन सार्वजनिक दबाब बढेको बताइएको छ।
यही पृष्ठभूमिमा सरकारले पनि राष्ट्रपतिले पद त्याग गर्नुपर्ने धारणा राखेको र त्यसपछि शाहाबुद्दिनले राजीनामा दिने निर्णय गरेको जनाइएको छ।




















