रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’

रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्नेकुरा सम्भव नरहेको उल्लेख गरेका छन् । शनिवार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । 

नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने बताए । उनले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिए । उनले देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताए ।  उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरुसँग आग्रह गरे । 

वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बनेका थिए । सिंहले आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले देश विकास गर्न पुराना काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरुले कुनै काम गर्न नसक्ने जिकिर गरे । उनले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ? भन्दै प्रश्नसमेत गरे । 

‘यहाँ पुराना दलहरुले केही गर्न सकेनन् भने । अरु कसले गर्न सक्ला त ? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो ? त्यही पुराना दल काँग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन । स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरुले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ ? नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि । नाराले केही काम हुँदैन । पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छौं भनेर गर्न सकिन्छ र ? परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल ।’ उनले भने, ‘परिवर्तन के गर्छ भनेको आफूले खोलेको दललाई सम्हाल्न सक्नुपर्छ नि परिवर्तन गर्ने दलले । सम्हाल्न सकेको छ ? यहाँ आएको दल, व्यक्ति कहाँ पुग्यो ? के गरिरहेको छ ? राजनीति सजिलो छ ? पार्टी खोल्ने भनेको चिज नाङ्लोमा पसल खोलेको जस्तो होइन । काँग्रेस र कम्युनिष्ट जस्तो पुरानो पार्टीलाई त गाह्रो छ भने नयाँ दलले कसरी गर्न सक्छन् । आफ्नो नाममा दर्ता भएको दललाई त दुई वर्ष टिकाउन सक्दैनन् भने यिनीहरुले काम गरेर देखाउन सक्ला ? राम्रो मान्छेलाई मौका दिनुपर्छ ।’ 
 
नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए । उनले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरुले संघीयताका कानून नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाए । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम काँग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर काँग्रेसले देश विकास गर्ने बताए  । 
 

Skip This
Skip This
Logo