चीनको वुहानबाट फैलिन थालेको कोरोना भाइरसले विश्वभर २ करोड ३१ लाख २५ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै भाइरसको संक्रमणबाट ८ लाख ३ हजार जना भन्दा बढीको मृत्यु भएको छ भने संक्रमित मध्ये १ करोड ५७ लाख १६ हजार भन्दा बढी निको भएका छन् ।
नेपालमा पनि कोरोना भाइरसको संक्रमणबाट ३१ हजार ११७ जना संक्रमित भएका छन् । कोभिड १९ को संक्रमणबाट १४६ जनाको मृत्यु भएको छ भने १८ हजार ३५० जना निको भएका छन् ।
देशको राजधानी काठमाडौंमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । काठमाडौंमा मात्रै २ हजार ४५३ जना, ललितपुरमा ३९९ जना र भक्तपुरमा २४ जना संक्रमित फेला परेका छन् । यसरी काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो समय उपत्यकामा दैनिक सरकार एक सय भन्दा बढीको संख्यामा संक्रमित थपिरहेका छन् भने देशभर सरदर ५०० को हाराहारीमा संक्रमित थपिरहेका छन् । तुलनात्मकरुपमा हेर्दा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या कम छ । कोरोना संक्रमितको संख्या दिनहु बढेसँगै सरकारले जोहो गरेको स्रोतसाधनले अपर्याप्त हुन थालेको छ । सरकारले हाल कोभिड हस्पिटलकारुपमा तोकिएका हस्पिटलका बेडहरु करिव भरिभराउ भइसकेका छन् ।
अहिले कुन अस्पतालमा कति बेड ?
हाल देशभर ९ सय ४६ आईसीयू शय्या रहेका छन् । यसैगरी देशभर ४ सय ९६ भेन्टिलेटर रहेका छन् । तीमध्ये उपत्यकामा मात्रै ३ सय ६१ वटा भेन्टिलेटर छन् ।
अहिले काठमाडौं उपत्यकामा मात्रै ६ सय ४७ आइसोलेसन बेड छन् । टेकु अस्पतालमा ५०, एपिएफ अस्पतालमा एक सय २०, शिक्षण अस्पताल महाराजगन्जमा आठ, पाटन अस्पतालमा एक सय, कीर्तिपुर आयुर्वेद अस्पतालमा एक सय, काठमाडौं मेडिकल कलेजमा ९०, ह्याम्स अस्पतालमा ३०, ग्रान्डी अस्पतालमा १९, वीरेन्द्र अस्पतालमा ८० र नेपाल प्रहरी अस्पतालमा ५० बेड छन् ।
यी बेडहरु भरिन थालेपछि पछिल्लो समय बिरामीलाई होम आइसोलेशनमा राख्न थालिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभरी ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् ।
कुन प्रदेशमा कति ?
अहिले प्रदेश नम्बर १ मा १ हजार ३९ जना, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९३ नजा, बागमती प्रदेशमा ३ हजार १ सय ६० जना र गण्डकी प्रदेशमा ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६७, कर्णाली प्रदेशमा ३ सय १० र सुदूरपश्चिम प्रदेशमा ९ सय ३८ गरी ८ हजार ५ सय ४६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६८ जना, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९७ जना, बागमती प्रदेशमा १ सय ११ जना र गण्डकी प्रदेशमा २७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४२ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी देशभरी ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् ।

अब सामान्य लक्षण भई आफ्नै घरमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालनाको सुनिश्चित गराई होम आइसोलेशनमा राखिने छ । होम आइसोलेशनमा बस्ने अवस्था नरहेमा त्यस्ता व्यक्तिलाई आइसोलेशन सेन्टरमा राख्ने सरकारको निर्णय छ । लक्षण भएका व्यक्तिलाई मात्र कोभिड –१९ को डेडिकेटेड अस्पतालमा उपचारको व्यवस्था मिलाउने सरकारको तयारी छ ।
२० प्रतिशत बेड छुट्याउन निजी अस्पताललाई निर्देशन
सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ ।
सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकतानुसार शिक्षण अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक सामुदायिक अस्पतालसमेतबाट सेवा सञ्चालन गराउन लागेको हो ।
कतिपय निजी अस्पतालले कोरोनाको परीक्षण र उपचार गर्न नमानेको गुनासो आइरहेका बेला सरकारको सो निर्णयपछि सबै अस्पताल महामारीका समयमा ती सेवा दिन बाध्यकारी हुनेछन् । सरकारका प्रवक्ता डा युवराज खतिवडाले यस कार्यमा असहयोग र बाधा विरोध गर्ने जो कोहीलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने बताएका छन् ।
सरकारले निजि अस्पतालहरुलाई कोरोना उपचारका लागि भन्दै प्रत्येक अस्पतालले संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन दिइसकेको । कोभिड १९ संक्रमित विरामीको उपचारका लागि बेड नछुट्याउने अस्पताललाई कोभिड परीक्षण प्रयोगशालाको अनुमति दिइने छैन । यदि अनुमति पाइसकेको भए त्यस्तो अस्पतालको अनुमति खारेज हुनेछ ।
यता काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ । डीसीसीएमसीले भौतिक सतुंगलस्थित मनमोहन मेडिकल कलेजमा ५ सय शय्या, डिल्लीबजारको नेसनल मेडिकल कलेजमा २ सय ५० शय्या र बालाजुको जनमैत्री अस्पतालमा १ सय शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ ।
त्यस्तै चांगुनारायण आवासमा ४ सय शय्या, वसुन्धराको महेन्द्रनारायण निधि स्मृति अस्पतालमा २ सय ५० शय्या, ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा ६ सय ४१ शय्या, कलंकीको सहिद मेमोरियल अस्पतालमा १ सय शय्या, बालाजुको विनायक अस्पतालमा ५५ शय्या र वसुन्धराको चिरायु अस्पतालमा ६५ शय्याको आइसोलेसन केन्द्र स्थापना गर्न सिफारिस गरेको छ ।
निजी अस्पतालको गुनासो
यता निजी अस्पतालले भने सरकारले आफुहरुको मनोबल घट्ने व्यवहार गरेको आरोप लगाएका छन्।
निजि अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन (एनएमए) बीचको आजको संयुक्त बैठकले अपमानजनक व्यवहार बन्द गरि सम्मानजनकरुपमा औपचारिक वार्ताको माहोल बनाउन सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।
आफूहरुसंगको स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सरकारले कहिल्यै पनि सहकार्यको पहल नगरेको चिकित्सक र अस्पताल संचालकले आरोप छ । ’कोभिड र नन कोभीड बिरामीलाई एकै अस्पतालको एकै छानोमा राख्दा संक्रमण बढ्ने खतरा रहेको निजी अस्पतालहरुको तर्क छ ।
निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन (एनएमए) बीचको आजको संयुक्त बैठकले गरेका निर्णयहरुः
१. मुलुकमा कोभिड १९ को महामारीको चपेटामा रहेको बेला एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) तथा नेपाल मेडिकल एशोसियसन अत्यन्त चिन्तित रहेको र राष्ट्रसँग हातेमालो गरि सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको व्यहोरा व्यक्त गरियो ।
२. नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको तर सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको विषयमा पनि समिक्षा गरियो ।
३. राष्ट्रमाथिको समस्या सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुको साझा समस्या भएको र यस्तो भयावह स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन हर प्रकारबाट सरकारसँग सहकार्य गर्न उत्सुक रहेको धारणा व्यक्त गरियो । साथै नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनि नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो ।
४. कोभिड १९ महामारीको यो स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन सम्पूर्ण नेपालीहरु उपचारमा दत्तचित्त रहेको र आप्mनो साधन श्रोतको अधिकतम उपयोग गरि सेवामा सधैं उपस्थित रहने प्रतिवद्धता व्यक्त गरियो ।
चेपुवामा जनता
पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनँहु बढ्दो छ । यही रफ्तार कोरोना संक्रमितको संख्या बढ्दै गएमा अवस्था भयावह बन्न सक्ने सरकारको चेतावनी छ ।
एकातिर सरकारी स्रोत साधनको सर्टेज हुन थालेको छ भने अर्काेतिर सरकार र निजी अस्पतालबीच यस्तो जुहारी चलिरहेको छ । कोरोनाको महामारी र सरकार तथा निजी अस्पतालबीचको जुहारीको चेपुवामा भने जनतामा परेका छन् ।
प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो भिडियो सामग्री































प्रतिक्रिया