शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण नदिमा आएको बाढी बस्तीमा पस्दा कैलालीको पूर्वी क्षेत्रका झण्डै ६०० घर डुबानमा परेका छन् ।
कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । भजनी नगरपालिका-८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । उनकाअनुसार सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका घरहरू डुबानमा परेका छन् । अझै नदीको बहाव बढ्ने क्रम जारी रहेको छ । यस्तै कान्द्रा नदीको बाढी बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् ।
कान्द्रानदीकै बाढीले भजनी नगरपालिका-७ को शिविर टोल,गणेशमान टोल र दक्षिणपुर्वा टोलका पनि करिब २५० घर डुबानमा परेका छन् । यी ठाउँमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन । बाढी बस्तीमा पस्दा प्रभावित भएकाहरूको उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया