काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि उपत्यकाका तीन जिल्लाले जारी गरेको एक साता लामो निषेधाज्ञामा दैनिक उपभोग्य बस्तुको सरकारसँग पर्याप्त मौज्दात रहेकाले अभाव नहुने जनाएको छ ।
कोरोना नियन्त्रणका लागि देशभरका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागू भए पनि बजारमा कुनै दैनिक उपभोग्य खाद्यबस्तुको अभाव नहुने दाबी गरेको छ । सरकारसँग अहिले चिनीबाहेक अरु खाद्यान्नको स्टक पर्याप्त रहेको वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताए ।
उनका अनुसार अहिले सरकारसँग पनि चिनीको मौज्दात केही कम रहेको र चाडै खाद्य कम्पनी र साल्टट्रेडिङले ३० हजार मेट्रिक टन चिनी आयात गर्ने तयारीमा रहेको छ । उनले भने, ‘यसले गर्दा चिनी पनि चाडै आयात हुने हुँदा कुनै पनि खाद्य बस्तुको अभाव हुँदैन ।’
साउन ३२ गतेसम्मको उद्योग वाणिज्य मन्त्रालयले राखेको विवरणमा दैनिक उपभोग्य सामाग्रीहरु दाल, चामल, नुन, तेल, केराउ र चना पर्याप्त रहेको जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार हाल सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रसँग ९५ हजार टन मौज्दात छ । जसमा निजी क्षेत्रसँग ८५ हजार टन र सरकारी कम्पनीसँग १२ हजार ७ सय ६८ टन मौज्दात बाँकी छ । यस्तै नुन १ लाख ३५ हजार टन मौज्दात छ । चिनी १५ हजार ९ सय ४७ टन मौज्दात छ । यसैगरी फापर ५८ क्वीन्टल दाल तथा गेडागुडी २० हजार टन र खानेतेल ७५ हजार ४ सय ५ टन मौज्दात छ ।
निषेधाज्ञामा खाद्यवस्तुको अभाव भए साल्ट ट्रेडिङलाई सम्पर्क गर्न आग्रह
यता, साल्ट ट्रेडिङले निषेधाज्ञाका बेला अत्यावश्यक खाद्यवस्तु अभाव भए सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । काठमाडौं उपत्याकाभरि जुन सुकै स्थानमा खाद्यवस्तु र ग्यास अभाव भए कम्पनीले घुम्ती सेवामार्फत बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको हो । आफ्नो टोल क्षेत्रमा खाद्यवस्तु अभाव भए स्थानीय जनप्रतिनिधि वा टोलका मानिसहरुले सामूहिक रुपमा साल्ट ट्रेडिङमा सम्पर्क गरे सहुलियतमा दैनिक उपभोग्य बस्तुको सेवा दिने जनाएको छ ।































प्रतिक्रिया