कालीमाटीको तरकारी बजारमाभन्दा ८० प्रतिशत बढी मूल्य तिर्न उपभोक्ता बाध्य

कालीमाटीको तरकारी बजारमाभन्दा ८० प्रतिशत बढी मूल्य तिर्न उपभोक्ता बाध्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा कालीमाटी तरकारी बजारको मूल्यभन्दा खुद्रा बजारमा तरकारीको मूल्य ८० प्रतिशतले बढेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम नियन्त्रण गर्न गरिएको लकडाउनको फाइदा उठाउँदै कालीमाटीको भन्दा खुद्रा बजारमा ८० प्रतिशतले मूल्य बढेको हो ।  मुलुक यतिबेला कोरोना भाइरसका कारण महामारीको चपेटामा परेको छ । भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म लकडाउन गरेको थियो । तर सरकारले लगाएको चार महिनाको लकडाउनका बेलामा समेत उपत्यका तथा अन्य स्थानहरुमा तरकारीको मूल्य सामान्य रहेको थियो । तर पछिल्लो एक महिनाको अवधिमा भने तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ ।

दुई सातादेखि काठमाडौं उपत्यकाका सहित देशैभर कोरोना संक्रमितको संख्या बढ्दै गएकाले विभिन्न स्थानमा पुनः लकडाउन तथा निषेधाज्ञा गरिएको छ । यसरी भाइरस रोकथामको लागि गरिएको निषेधाज्ञाको प्रभाव तरकारीमा समेत पर्न थालेको छ । तर पछिल्लो दुई हप्ताको अवधिमा कालिमाटी तरकारी बजारमा गोलभेंडा तथा हरियो तरकारी बाहेक अन्य तरकारीको मूल्यमा वृद्धि नभएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनकाअनुसार पछिल्लो दुई हप्ताको अवधिमा तरकारी आयात नरोकिएकाले र उत्पादन पनि बढ्दै गएकाले कालीमाटी होलसेल बजारमा कुनै पनि तरकारीको मूल्य बढेको छैन । उनले भने–‘सरकारले कोरोना रोकथामको लागि उपत्यकामा निषेधाज्ञा लगाउँदा व्यापारमा केही तलमाथि भएको छ । व्यवसायीहरुलाई खरिद गर्न समस्या होला । त्यहीअनुसार खुद्रा व्यवसायीले मूल्य वृद्धि गरेको हुन सक्छ ।’

चार महिना मुलुकभर लकडाउनको अवधिमा हरियो तरकारी बाहेक स्वदेशी उत्पादनले ८० प्रतिशत बजार धानेको थियो । तर लकडाउन खुकुलो भएदेखि बजारमा तरकारीको माग पनि बढेकाले बाहिरबाट पनि तरकारी आयात भइरहेको छ । दुई साता अगाडि मुलुकभर आएको बाढी पहिरोका कारणले तरकारीको आयात कम हुँदा मूल्य बढेको थियो । त्यस पश्चात अहिलेसम्म कालीमाटी तरकारी बजारमा केही तरकारी बाहेक सबैको मूल्यस्थिर रहेको श्रेष्ठले बताए ।

यति बेला मानिसहरु कोरोना महामारीले समस्यामा परेर जीवीकोपार्जन गर्ने धौ धौ भइरहेको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारीेको मूल्य वृद्धि हुदाँ थप मारमा परेका छन । अहिले काठमाडौं उपत्यकाका बजारमा तरकारीको मूल्य सामान्य गिरावट नभई छोइनसक्नु भएको छ । बजारमा होलसेल मूल्यको तुलनामा खुद्रा मूल्य ८० प्रतिशतसम्म वृद्धि भएको छ । यता खुद्रा व्यापारीहरु भने निषेधाज्ञाको प्रभावले बजारमा तरकारी लिन जान नपाएको तथा होलसेल बजारमा समेत तरकारीको अभाव महंगो भएकाले केही मूल्य बढेको बताउँछन् । कालीमाटी बजारमा अहिले दैनिक ६ सय टन तरकारी आयात हुने गरेको छ । बुधबार ५ सय टन र बिहीबार ४ सय टन तरकारी आयात भएको थियो । पछिल्लो समय तरकारी विक्रिमा भने केही कमी आएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अहिले कालीमाटी बजारमा तरकारीको होलसेल र खुद्रा मूल्य आलु प्रतिकेजी न्यनतम ६० रुपैयाँ रहेको छ । तर खुद्रा बजारमा एक धार्नीको २०० रुपैयाँ रहेको छ । त्यस्तै, कालीमाटी बजारमा बन्दाको मूल्य प्रतिकेजी ३८ रुपैयाँ रहेको छ भने खुद्रा बजारमा मूल्य ५० रहेको छ । स्थानीय काउली ९५ र १५०, भन्टा लाम्चो ८० र १२०, घ्यू–सिमी ८० र १५०, परवर ९० र १५०, घिरौंला ५० र ९०, आलु रातो ५५ र ७०, बोडी ६० र ११०, गोलभेंडा २० र ४०, हरियो खुर्सानी ९० रुपैयाँ रहेको छ । तर यो कालीमाटीमा भएको मूल्यभन्दा ८० प्रतिशत भन्दा बढी मूल्यमा बिहीबार खुद्रा बजारमा विक्रि भइरहेको छ ।

निषेधाज्ञामा राति १२ देखि बिहान ९ बजेसम्म तरकारी बजार खुल्ने

उपत्यकाका तीन जिल्लामा लगाइएको एक साता लामो निषेधाज्ञाले कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजारमा केही प्रभाव परेको छ । बिहीबार पहिलो दिन तरकारी बजार बन्द नभएपनि शुक्रबारबाट तरकारी बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएका थिए ।

किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण विक्रि हुन् छाडेपछि बजार खुल्ने समयावधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थिए । सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा, मासु, फलफूल, डेरी र खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिने बताए पनि कालीमाटी फलफूल तथा तरकारी बजारमा समेत कोरोना सक्रमित बढ्दै गएकाले राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिएको छ । तरकारी बजार सञ्चालनमा निषेधाज्ञाले कुनै पनि प्रभाव नभएको समितीका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Skip This
Skip This
Logo