नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा वीरगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ।
जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कमिटीले बुधबार दिउँसो राष्ट्रपति भण्डारी विरूद्ध प्रदर्शन गर्दै उनको पुतला दहन गरेको हो। जसपा कार्यकर्ताले वीरगञ्जको आदर्शनगरमा टायर बालेर प्रर्दशनसमेत गरेका थिए।
‘राष्ट्रपतिज्यूले संविधान मिचेर संसदीय व्यवस्था विरूद्ध प्रहार गर्नुभएको छ। उहाँले यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। तराई, पहाड र हिमालका ५ लाख बढी युवालाई उहाँले नागरिकताबाट वञ्चित गर्नुभयो,’ जसपा महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले भने।
यादवले राष्ट्रपति भण्डारीको असंवैधानिक कदमविरूद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्न अपरान्ह ४ बजे वीरगञ्जमा जसपाको बैठक बोलाइएको बताए।
यसअघि सिके राउत नेतृत्वको जनमत पार्टीले पनि आज बिहान राष्ट्रपति भण्डारी विरूद्ध टायर बालेर प्रदर्शन गर्दै सिरहाको कसहामा पुत्ला जलाएको थियो।































प्रतिक्रिया